पेट्रोलियमको मूल्‍यवृद्धि अति हैन अत्याचार हो, घटाउनैपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आयल निगमले जनताको ढाड सेक्न गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर अत्याचार गरेको बताए।

पूर्व-प्रधानमन्त्रीसमेत रहेको नेता नेपालले सत्ता साझेदार दलहरूसँग छलफल गरेर त्यसका लागि उचित पहल गर्ने पनि बताए । यस्तै, उनले जनताका लागि काम गर्न पनि विद्यार्थी नेतालाई निर्देशन दिए । नेता नेपालले विभागीय मन्त्री नहुँदा समस्या भएको भन्दै प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न सुझाए । उनले अहिलेसम्म उद्योगमन्त्री नियुक्ति गर्न कोही पनि नभेटिएको भन्दै आफूलाई देऊ भन्दा पनि नदिएको बताए ।

२०७८ साल असार २७ गते सर्वोच्च अदालतको परमादेशबाट २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि प्रधानन्यायाधीशको कोटाबाट असोज २२ गते उद्योगमन्त्री गजेन्द्रबहादुर हमाललाई नियुक्त गरेका थिए ।

प्रधानन्यायाधीशले कोटा खोजेको भनेर चर्को विरोध भएपछि त्यसको तीन दिनपछि हमालले राजीनामा दिए । त्यसपछि उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएका छन्। नेपाल आयल निगम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्दछ ।