रुपन्देहीमा कांग्रेसका कार्यकर्ता बिच कुटाकुटः पाँच जना घाइते
रुपन्देहीको भैरहवामा नेपाली कांग्रेसका कार्यकर्ता बिच कुटाकुट हुँदा पाँच जना घाइते भएका छन्। १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न रुपन्देही प्रदेश सभा ३ (१) को निर्वाचनको मतगणनास्थलमै देउवा पक्षले पौडेल पक्षका नेता कार्यकर्तालाई कुटपिट गरेका हुन् । मतपरिणाम आफ्नो पक्षमा नपर्ने देखिएपछि देउवा पक्ष कुटपिटमा उत्रिदा पाँच जना घाइते भएको क्षेत्रीय सभापति मातृका यादवले बताए ।कुटपिटबाट प्रतिनिधि सभा क्षेत्र नं.३ का सचिव पदका उम्मेदवार शैलेश पन्त गम्भिर घाइते भएका छन्। उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैइरहेको छ । उनको नाकको हड्डी भाँचिएको अस्पतालले जनाएको छ। सामान्य घाइते अन्य ४ जनाको भैरहवामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शान्तिपूर्ण रुपमा मतगणना चलीरहेका बेला मुखमा कालोपट्टी बाँधेका केही व्यक्तिहरु मतगणनास्थल प्रवेश गरी धम्काउँदै कुटपिटमा उत्रेको प्रदेश ३ (१)का सभापति पदका उम्मेदवार पुरणप्रसाद श्रेष्ठले बताए । मत गणनाका क्रममा आफ्नो प्यानलले अग्रता लिएपछि देउवा पक्षका तरुण नेताकै नेतृत्वमा आक्रमण गरिएको दावी श्रेष्ठको छ। देउवा पक्षले हार्ने निश्चित भएपछि जेनेरेटर समेत बन्द गरी तरुणदल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा कुटपिट गरीएको श्रेष्ठले दावी गरे । तर निर्वाचन समितिका संयोजक माधव घिमिरेले भने एक्कासि मत गणना रोक्न भनिएको प्रतिक्रिया दिएका छन। मतगणना चलिरहेका बेला अचानक जेनेरेटर बन्द भएको स्वीकार गर्दे कुटपिटबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
यो क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र हो । प्रदेश सभा ३(१)मा पौडेल पक्षबाट सभापतीमा पुरुणप्रसाद श्रेष्ठ र देउवा पक्षबाट सुरेन्द्रजंग थापा उम्मेदवार छन । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर साँझ मतगणना सुरु भएको थियो ।
मतगणनाकै क्रममा सभापतिमा श्रेष्ठले अग्रता लिएपछि देउवा पक्षका नेता कार्यकर्ता मध्यराती २ बजेतिर आक्रमणमा उत्रेको मतगणना स्थलमा रहेकाहरुले बताएका छन । मत तलमाथि गर्न योजनाबद्ध रुपमै जेनेरेटर नै बन्द गरेर अक्रमणमा उत्रीएको दावी गरिएको छ ।