एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने प्रक्षेपण

काठमाडौँ– नेकपा एमालेको १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ । महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो । महाधिवेशन केन्द्रित नवयुग बुलेटिनमार्फत आर्थिक संयोजक रिमालले सो प्रक्षेपणका बारेमा जानकारी दिएका हुन् ।

‘नवौं महाधिवेशनमा ४ करोड ५० लाख खर्च भएको थियो । १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान गरेका छौं,’ उनले भने ।उनका अनुसार आठौं महाधिवेसन भने २ करोड २५ लाखमा सम्पन्न भएको थियो ।

६ हजार ४ सय ३५ प्रतिनिधि उपस्थित भएको विद्यान महाधिवेशनमा करिब ५ करोड खर्च गरेको एमालले विद्यान महाधिवेशन र १०औं महाधिवेशन गरी यसै वर्ष १२ करोड ५० खर्च गर्ने भएको छ। तर, चितवन महाधिवेशनमा होटलका ३५ सय कोठा बुक गरेको तथा नयाँ मञ्च बनाउनु पर्नेलगायतका कारण विद्यान महाधिवेशन भन्दा नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन खर्चिलो हुन पुगेको रिमालको भनाइ छ।

हालै नविकरण भएका ८ लाख ५५ हजार ४ सय ५३ सदस्यलाई १–१ सय सहयोग गर्न आह्वान गरेको जनाउँदै अधिकांश रकम सोही प्रक्रियाबाट संकलन गर्ने योजना एमालेले बनाएको छ। त्यसका लागि बैंक खाता सार्वजनिक गर्दै ई–सेवा र फोन पेवाट रकम जम्मा गर्ने सुविधा एमालेले बनाएको छ ।