अष्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप २०२१
एजेन्सी । काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । मार्शले अविजित रहदै ७७ रनको योगदान गरे । उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे । वार्नरले ५३ रनको योगदान दिए । यस्तै कप्तान आरोन फिन्च ५ रनमा आउट भए । ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्टिन गुप्टिलले २८ रन जोड्दा ग्लेन फिलिप्सले १८ रन बनाए । डार्यल मिचेलले ११ रन जोडे ।
जेम्स निशमले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन बनाए । अष्ट्रेलियाका जोस हाजलउडले १६ रन खर्चिएर ३ विकेट लिए । एडम जाम्पाले १ विकेट लिए ।
अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो । यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराएको थियो ।