विग्रहको बाटो छोडेर संवादमा आउन प्रधानन्यायधीशको अनुरोध
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले गर्दै न्यायापालिकाको समग्र आधारलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका हुन् ।
विज्ञप्ति उनले विद्यमान गतिरोधलाई तत्काल अन्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकका न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरूपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तरता दिन आग्रह गरेका छन्। जबराले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद रहेकाले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादमा आउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘आज न्यायपालिकाभित्र उत्पन्न भएको गतिरोधका कारण नागरिकका प्रश्नहरू हामीतर्फ नै सोझिएका छन्। जनताले विश्वासको शीरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिका भित्रका सबै अवयवहरूको साझा दायित्व हो। नेपालको प्रधानन्यायाधीशका रूपमा मेरो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ त्यतिकै अग्रसरता बार एसोसिएसन र यसका ईकाइहरूबाट पनि अपेक्षा गरिएको हुन्छ भन्नु अतिशयोक्ति हुँदैन । ‘
उनले न्यायको एकै रथका दुई पाशाका रूपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्वाध गुडाइरहनुपर्ने चुनौती हाम्रा सामु खडा भएको उल्लेख गरेका छन्। जबराले न्यायपालिकाको संस्थागत सुधार र सवलीकरणका लागि भएका संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् माननीय न्यायाधीश हरिकृष्ण काकीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्न तयार रहेको प्रस्ट पारेका छन् ।
जबराले जनताले न्याय पाउने अन्तिम संस्था सर्वोच्च भएको समेत स्मरण गराएका छन् । उनले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिटाउन प्रयासहरू कहिं कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध आवश्यक रहेको बताएका छन् ।