आज छठ पर्वको मुख्य दिन, तराइमा धुमधामसँग मनाइदै
विराटनगर — सूर्य उपासनाको लोकपर्व छठ पूजाको आज मुख्य दिन । भक्तजनले घरदेखि घाट भनिने जलाशय किनारसम्म झकिझकाउ पारेका छन् । घरघरै व्रतालुहरु सम्पूर्ण शुद्धताका साथ ठेकुवा, भुसुवा र पुरीलगायतका प्रसाद तयार पार्नमा व्यस्त छन् । व्रतालु, परिवारजन र छरछिमेक बेलैमा घाट पुग्ने हतारोमा पूजन सामग्री मिलाउँदैछन् ।
साँझपख अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि शनिबारदेखि सुरु भएको यो महापर्वको विधिवत समापन हुन्छ । व्रतालुले पहिलो दिन शनिबार बिहान लोकगीत गाएर सूर्यदेव र छठमाता वा छठपरमेश्वरी मानिने उनको आमा उषालाई घाटमा दर्शन दिनलाई बिन्ति गरे ।
दोस्रो दिन आइतबारदेखि पूर्ण रुपले माछामासुको त्याग गरे । तेस्रो दिन सोमबार नुहाएर खाए भने चौथो दिन मंगलबार दिनभर उपवास बसेर साँझको खरना विधि घरभित्रै सम्पन्न गरे । त्यसपछि पुन: अखण्ड उपवास सुरु भएको छ ।
पाँचौं दिन आज साँझ र छैठौं दिन भोलि बिहानको धार्मिक अनुष्ठानका लागि व्रतालुहरु जलाशय किनार पुग्छन् । यसपटक कोभिड–१९ को संक्रमण मत्थर भएकोले सामूहिक रुपले मनाउन पाउँदा छठका अनुयायीमा उमंग छाएको छ ।
लोक आस्थाअनुरुप सुस्वास्थ्य, समृद्धि, सन्तान सुख तथा सामाजिक विभेदको अन्त्यलगायतको विविध थरिका कामना गर्दै छठ पूजा गरिन्छ । पूजा अवधिभर यो पर्वको विधि एवं परम्परासँग जोडिएको लोकगीत गाइन्छ र बजाइन्छ ।
बिहानको अर्घ्यलगत्तै सूर्य महिमाको कथा वाचन गरेपछि छठको समापन हुन्छ । व्रतालुले घाटमै बिहान प्रसाद खाएर उपवास तोड्छन् र उपस्थितलाई प्रसाद बाँड्दै घर फर्कन्छन् । प्रसाद वितरणको क्रम भने धेरै दिनसम्म चलिरहन्छ ।