तराईमा छठको रौनकता, आज पहिलो दिन ‘नहाय खाय’

जनकपुरधाम । तराईमा मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ सोमबार विधिवत रुपमा सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी सम्म चार दिन सम्मा मनाइने छठ पर्वको पहिलो दिन सोमबार ‘नहाय खाय’विधिसँगै विधिवत रुपमा छठ प्रारम्भ भएको हो ।

छठको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ। प्रायः बढीजसो महिलाहरुले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरु गर्नुपर्ने मान्यता अनुरुप आज ‘नहाय खाय’ विधि हुनेछ । आजदेखि ब्रतालु महिलाहरुले माछा, मासु, लसुन, प्याजसहित ब्रतमा प्रतिबन्ध गरिएका सामग्रीहरु नखाने मान्यता रही आएको जनकपुर उप–महानगरपालिका-१४ की ब्रतालु सुनिता सिंह बताउँछिन् ।

छठ पर्वको दोस्रो दिन ‘खरना’विधि गरिन्छ। देशभर तथा भारतीय राज्य विहारमा भव्यतापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोली ब्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाएको विधिलाई‘खरना’भन्ने गरिन्छ । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपूर्ण पर्व छठको तयारी जनकपुरधाममा जोडतोडका साथ सुरु भएको छ । नियम निष्ठा र विधिपूर्वक मनाइने साझा सांस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरुको जोहो र किन मेल गर्न सर्वसाधारण अहिले व्यस्त छन् ।

भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा रहेको पूर्व प्राज्ञ रामभरोष कापडि भ्रमर बताउँछन् । छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ ।

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ ।