काङग्रेस नेतृ सुजाता कोइरालाले सभापतिमा उम्मेदवारी दिने
मोरङ — कांग्रेस नेता सुजाता कोइरालाले गृह जिल्ला मोरङमा आएर पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा कोइरालाले संस्थापनइतर समूहमा सबै मिलेर एउटा मात्रै उम्मेदवार बनाउने अवस्था नआएकोले आफूले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएकी हुन् । पार्टीको १४ औं महाधिवेशनमा धेरै उम्मेदवार हुने भएकोले महिला उम्मेदवार पनि हुनुपर्ने मान्यता अनुसार पनि उम्मेदवारी घोषणा गरेको बताइन् ।
‘गिरिजाप्रसाद कोइरालाले पनि महत्त्वपूर्ण विषय गृह जिल्ला मोरङमा आएर बोल्ने गरेकोले आफूले पनि त्यही अनुसार गृह जिल्लामा आएर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छु,’ कोइरालाले भनिन्, ‘गिरिजाप्रसाद कोइरालाको बीपी कोइरालाको विचारलाई संस्थागत गर्ने अधुरो काम सभापति बनेर पूरा गर्छौं ।’
कोइराला परिवारका महामन्त्री शशांक कोइराला, शेखर कोइरालालगायत तीनै जनाले उम्म्मेदवारी दिनेबारे सञ्चारकर्मीको प्रश्नमा उनले आफू एक जना मात्रै महिला उम्मेदवार हुने भएकोले दुवै जनाले समर्थन गर्ने विश्वास व्यक्त गरिन् ।
कोइरालाले सर्वोच्च अदालतमा अहिले देखिएको समस्या प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सरकार मिलेर समाधान गर्नुपर्ने बताइन् । ‘पछिल्लो समय देशका सबै संवैधानिक निकाय, सेना, प्रहरी संगठनलाई विवादित बनाइरहेको छ,’ उनले भनिन्, ‘यो राम्रो संकेत होइन त्यसैले न्यायालयलगायत सबै संवैधानिक अंगहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ ।’
कोइरालाले मुलुक अर्ली इलेक्सनमा जाने संकेत देखिएको बताइन् । उनले अहिलेका राजनीतिक घटना क्रमले मुलुक अर्ली इलेक्सनमा जानुको विकल्प आफूले नदेखेको बताएकी हुन् ।
प्रदेश १ सरकारको नेतृत्व कांग्रेसको हुनुपर्ने उनको भनाइ थियो ।