दसैंमा घर पुग्‍ने चटारो: उड्ने र गुड्ने सबै भरिभराउ

काठमाडौं । दसैंमा सबैलाई घर जान चटारो छ । यतिबेला सडकमा गुड्ने गाडी र अकाशमा उड्ने प्लेनमा यात्रुको भीड छ । टाटा सुमो, माइक्रो, बसभन्दा त प्लेनमा टिकट पाउन मुस्किल छ । बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंहका अनुसार पहिलाभन्दा अहिले उडान भर्ने प्लेनको संख्या बढेपनि यात्रुको चाप भने घटेको छैन ।

यात्रुहरुले अग्रिम टिकट बुकिङ गरेका छन् । त्रिभुवन विमानस्थलबाट घर जाने यात्रुको बाक्लो भीड छ । काठमाडौं बस पार्कमा पनि उस्तै भीड छ, जन्मोथलो पुग्नेहरुको ।

यात्रुलाई हवाई टिकट पाउन मुस्किल

नेपालीको मुख्य चाड दशैं तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दशैं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ ।

अन्य जिल्ला बाहिरबाट रोजगारी तथा कामको सिलसिलामा हुम्ला पुगेका नागरिकलाई यो समय टिकट पाउन मुस्किल हुने गरेको गुनासो आउन थालेको छ । नेपालगञ्ज तथा सुर्खेत जानका लागि सिमकोट विमानस्थलमा बिहानको समयमा टिकटका लागि यात्रुको चाप बढी हुने भए पनि जिल्ला बाहिरिनेका लागि टिकट पाउन मुस्किल हुने गरेको छ ।

दशैंको समयमा नेपालगञ्ज तथा सुर्खेतबाट उडान भर्दै आएका निजी एयरलाइन्स सीता, तारा र समिटले कम उडान भरेका कारण यात्रुलाई टिकट पाउन मुस्किल भएको हो । अन्य समयमा सुर्खेत, नेपालञ्जबाट दैनिक १५ भन्दा बढी उडान भर्दै आएका निजी जहाजले यो समय एक दुई उडान भरेका कारण जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

दशैं तिहारको समयमा एकैपटक ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएकाले विमानस्थलमा चाप बढ्नाका साथै टिकट पाउन मुस्किल हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ ।