
उद्योगमन्त्री हमालद्वारा शपथ लिएको ७२ घन्टा नपुग्दै राजीनामा
काठमाडौं – नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार बिहान हमालले दिएको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले राजीनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान राजीनामा दिएका थिए । गैरसांसद हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । नाताले उनी राणाका जेठान हुन् ।
हमालले आफ्नो मन्त्रीमा नियुक्तिका विषयमा अनावस्यक विवाद उब्जाइएकोले मन्त्री पदमा बसेर आलोचना खेप्नु भन्दा राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्ष निकालेर राजीनामा दिएको बताए । आफू मन्त्री बनेको विषयमा प्रधानन्यायाधीश समेतलाई विवादमा तानेको भन्दै उनले राजीनामा दिने निश्कर्ष निकालेको हमाल निकट स्रोतले बतायो ।
आफूलाई राजीनामा नदिन धेरैले आग्रह गरेपनि आफू भने स्वविवेकले राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताएका छन् ।



