सरकारमा छुटेकालाई उचित जिम्मेवारी दिन्छु : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई समेटेर अगाडि बढ्ने बताएका छन् । शनिबार बिहान बालुवाटारमा ‘विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ’पुस्तक विमोचन गर्दै उनले मन्त्रिमण्डल विस्तारमा छुटेका सहकर्मीलाई उचित स्थान दिने आश्वसन दिएका हुन् ।

उनले मन्त्रिमण्डल विस्तारमा छुटेका साथीहरुलाई आगामी दिनमा पार्टीमा उचित जिम्मेवारी दिने जानकारी गराए । उनले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र सक्षम नेतालाई मन्त्री बनाउन नसकेको धारणा राखे ।

प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिमण्डललाई पूर्णता दिए । झन्डै तीन महिनासम्म पाँच मन्त्रीको भरमा देश चलेको थियो । मन्त्रिपरिषद् विस्तारको तयारी हुँदा सरकारसँग प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि नाम जोडियो। जबराले वन र उद्योग मन्त्रालय मागेका थिए। यो विषयलाई लिएर बारले आपत्तिसमेत जनाएको थियो ।

शुक्रबार उद्योगमन्त्री गजेन्द्रबहादुर हमाल बने। हमाल प्रधानन्यायाधीश जबरा निकट मानिन्छन्। जबराले भने हमाल पुराना देउवा निकट नेता भएकाले मन्त्री बन्न सक्ने यसअघि नै प्रतिक्रिया दिएका थिए । सर्वोच्चमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले कम्फरटेबल बनाउन हमाल मन्त्री बनेका हुन् ।

कांग्रेसका ८, माओवादी केन्द्रका ५, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका ४ जना मन्त्री बनेका छन्। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट १/१ जना राज्यमन्त्री बनेका छन् । केहीको जिम्मेवारी हेरफेर गरिएको छ। उपप्रधानमन्त्री भने कसैलाई पनि बनाइएको छैन। चार दलीय गठबन्धनको भागबन्डामा विवाद भएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । मन्त्रिपरिषद्मा १२ जना खस आर्य छन्। ८ जना जनजाति छन् । ४ जना मधेसी, १ जना दलित छन् । महिला ६ जना मन्त्री बने ।

मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट कानुनमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी राज्यमन्त्री बनाइएको छ ।