प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला दहन

वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका छन् । सांसद यादवका कार्यकर्ताले शुक्रबार साँझ वीरगन्जमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कालो नागको संज्ञा दिंदै उनको पुत्ला जलाएका छन्। साँझ घण्टाघर चोकमा भेला भएका सांसद यादवका कार्यकर्ता र शुभचिन्तक युवाले पार्टी कार्यालयको साइन बोर्ड झिकेर आगो लगाएका छन् ।

प्रदर्शनमा सहभागीले ‘उपेन्द्र यादव काला नाग मुर्दावाद’ , ‘पार्टी कसैको बाउको होइन’ , ‘जसपाको शान प्रदीप यादव’, ‘हाम्रो नेता कस्तो होस् प्रदीप यादव जस्तो होस्’ जस्ता नारा पनि लगाएका थिए । सामाजिक सन्जालमा पनि सांसद यादव निकटका पार्टीका युवा कार्यकर्ताले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी आक्रोश पोखेका छन्। यता सांसद यादवले पनि मधेस आन्दोलनको जननी भूमी पर्सा र वीरगन्ज फेरि ठगिएको गुनासो गरेका छन् । जसपाले मन्त्री नबनाएपछि शुक्रबार साँझ सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै सांसद यादवले जनधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको बताएका छन् ।

फेसबुक पेजमा उनले लेखेका छन्, ‘मधेश आन्दोलनको उद्गम स्थल र बिगुल फुक्ने वीरगन्जलाई नजर अन्दाज र किनारा गरिएको छ, वीरगन्ज आज फेरि ठगिएको छ, यसले पर्सेली जनता दुखित र आक्रोशित भएका छन् । यसपटक पक्कै पनि पर्सा र वीरगन्जलाई न्याय र सम्मान गरिने छ भन्ने विश्वास थियो । तर प्रतिफल उल्टो भयो । तर पनि नेतृत्व प्रति मेरो कुनै टिप्पणी छैन । मूल्यांकन गर्ने जिम्मा फेरि पनि न्याय प्रेमी जनतालाई नै छोड्छु ।’

यादवले यस परिस्थितिमा धैर्यता नगुमाउन शुभचिन्तक र पार्टीका नेता कार्यकर्तासँग अनुरोध पनि गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएदेखि नै सांसद यादव मन्त्री बन्ने चर्चा चल्दै आएको थियो। त्यसका लागि उनका कार्यकर्ता पटक-पटक काठमाडौं पुगेर पार्टी नेतृत्वलाई दबाब पनि दिंदै आएका थिए । तर अन्तिम समयमा शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीका लागि ४ जना नेता रामसहाय यादव , राजेन्द्र श्रेष्ठ , रेणु यादव र महेन्द्र राय यादवको मात्रै नाम सिफारिस गरेपछि सांसद यादव मन्त्री बन्नबाट बन्चित हुन पुगेका हुन् ।