भाजपाको निम्तोमा काँग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको प्रतिनिधि मण्डल भारत भ्रमणमा जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा काँग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली भारत जान लागेको हो । भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा महतका साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन् । यसअघि चौथाइवालेले भदौको पहिलो साता काँग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए ।
काँग्रेसले भाजपालाई बोलाएपछि भाजपाले पनि काँग्रेसलाई बोलाएको राणाले बताए । नेता राणाले रातोपाटीसँग भने, ‘भारतीय जनता पार्टीको विदेश विभागले काँग्रेसलाई निम्ता पठाएको छ । काँग्रेसले हामीलाई तोकेको हो । पार्टीको प्रतिनिधित्व गर्दै हामी विहीबार जाँदैछौं ।’ उनका अनुसार काँग्र्रेस प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।
आफूहरु दिल्ली, बनारस र लखनौको भ्रमण गरेर फर्किने राणाले बताए । उक्त भ्रमणमा अहिलेसम्म भाजपाका नेताहरुसँग मात्र भेटघाट हुने कार्यक्रम रहेको छ । राणाले भने, ‘बाँकी को कोसँग भेट्ने भनेर त्यहाँ गएरपछि सेड्युल तय हुन्छ । भाजपाकै निमन्त्राणमा जाने भएकाले को कोसँग भेट्ने उहाँहरुले नै मिलाउनुहुन्छ ।’
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भाजपासँग सम्बन्ध सुधारका लागि उनीहरुलाई भारत पठाउन लागेको बुझिएको छ ।