तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी एकैसाथ जम्मा भई तमु समाज यूकेको वार्षिकउत्सब मनाए

नारायणसिङ गुरुङ ।

लन्डन, ०४ अक्टोबर । बेलायतमा तमुहरुको (गुरुङहरुको) अग्रणी र ठुलो संस्थाहरु; तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी पहिलो चोटि एकैसाथ जम्मा भई तमु समाज यूकेको १४औ वार्षिकउत्सब मनाएका छन । तमु समाज यूकेले वेम्बलीमा रहेको आफ्नै भवनमा गत अक्टोबर २ तारिख २०२१ साल शनिबार समाजको चौधौ वार्षिक उत्सब भब्य अनि सभ्य रुपमा मनाएका छन । लन्डन बोरो अफ हन्स्लोको मेयर काउन्सिलर बिष्णु बहादुर गुरुङ प्रमुख अतिथि, तमु धिं यूकेको अध्यक्ष्य हितकाजी गुरुङ र क्यप्टेन रिटायर्ड एकनारायण गुरुङ बिशेष अतिथि रहेको कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरेरा मनाएको थियो ।

प्रमुख अतिथि लन्डन बोरो अफ हाउन्स्लोका मेयर काउनसिलर विष्णुबहादुर गुरुङ, समाजका अध्यक्ष शिवकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रूपमा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेको कार्यक्रमको शुरुवातमा बेलायत र नेपाल दुबै देशको राष्ट्रिय गान बजाइएको थियो । त्यस लगत्तै तमु समाज यूकेको अध्यक्ष्य शिवकुमार गुरुङले अतिथि लगायत उपस्थित सम्पूर्ण सदस्यहरुलाई न्यानो स्वागत र अभिबादन गर्दै तमु समाज यूकेले आफ्नो स्थापनाकालदेखि हालसम्म गरेका गर्ब गर्न लायक क्रियाकलापहरुको जानकारी गराउनुभएको थियो । अध्यक्ष्य शिवकुमार गुरुङले बेलायतमा बैधानिक रुपमा दर्ता भएर क्रियासिल रहेको तमुहरुको गर्ब गर्न लायक दुई संस्थाहरु; तमु धि यूके र तमु समाज यूके बिचको आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो । साथै यी दुई ठुला संस्थाहरु एकजुट भएर तमुहरुको (गुरुङहरुको) धर्म संस्कृति संस्कार, भाषा तथा भेषभुषा संरक्षण, सम्बर्ध्दन र प्रबर्ध्दनमा ध्यान तथा टेवा दिनुपर्ने कुरा बताउनुभयो । उहाँले आजको कार्यक्रमबाट यी कार्यहरु गर्न नयाँ उर्जा मिलेको विचार प्रकट गर्नुभयो ।

यसैगरी तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले दुई संस्था बिचको आपसी सम्बन्धलाई विगत र वर्तमानलाई आत्मसाथ गर्दै आगामी दिनमा व्यवहारिक रुपमा नै एक भएर अगाडि बढ्ने, एकतामा नै बल हुने र तमु एकता आजको प्रमुख आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लन्डन बरो अफ हन्स्लोका मेयर काउन्सीलर बिष्णुबहादुर गुरुङले तमु समाज यूके र तमुधिं यूके बिचको एकतामा खुसी प्रकट गर्दै तमु समाज यूकेले बेलायतमा मात्र सीमित नरही नेपालमा समेत गरेको सामाजिक कार्यहरुको मुक्तकण्ठले प्रशंसा गर्दै हन्स्लो काउन्सिलको तर्फबाट आधिकारिक रुपमा तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङलाई सम्मान पत्र र व्यक्तिगत रुपमा तमु समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई सम्मान पत्र प्रदान गरेको थियो ।

त्यसैगरी कार्यक्रममा तमु समाज यूकेले क्या.रि. एकनारायण गुरुङलाई समाज परिवर्तनको लागि लामो समयदेखि भूतपूर्व ब्रिटिस गोर्खाहरुको हक, हित र अधिकार संरक्षण गर्नुको साथै गोर्खाहरुको ईतिहासलाई अनन्तकालसम्म जीवन्त राख्‍नको निम्ति ब्रिटिस गोर्खा स्मारक संग्रहालय पोखरा नेपालको संस्थापक अध्यक्ष रहनुको साथै तमु छोंज धिं नेपालको पूर्ववरिष्ठ उपाध्यक्ष पदमा रहेर समग्र तमु जातिको कला र संस्कृति संरक्षणको लागि गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै तमु समाज यूकेको १४औं वार्षिकोत्सवको पावन अवसरमा तमु समाज यूके विशिष्ट समाजसेवा सम्मान पत्र-२०२१ द्वारा सम्मानित गरिएको थियो ।

त्यस्तै तमु समाज यूकेका अध्यक्ष र आमा समूहको अध्यक्ष उमादेवी गुरुङले लन्डनको ३२ वटा काउन्सिलहरुमा पहिलो मेयरको रूपमा एउटा प्रथम नेपाली मुलका गोर्खाको छोरा विष्णुबहादुर गुरुङलाई पाउँदा उनलाई हार्दिक बधाई दिँदै परम्परागत शैलीमा फेटा, खादा र मायाको चिनो समाजको प्लेग र उनको धर्मपत्नी सीता गुरुङलाई शल पछ्यौरीले सम्मान गरेका थिए । त्यसैगरी तमु धिं यूकेको अध्यक्ष्य हितकाजी गुरुङलाई पनि लामो समयदेखि बेलायतमा रहेर तमु धिं एसोसिएसन यूकेको संस्थापक रहनुको साथै वर्तमान कार्यसमितिको गरिमामय अध्यक्ष पदमा रहेर तमु जातिहरुको कला र संस्कृतिको संरक्षण गर्नुको साथै समग्र तमु जातिको एकताको निम्ति सामाजिक जीवनको विभिन्न पक्षमा गर्नु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै तमु समाज यूकेको १४औं वार्षिक उत्सवको पावन अवसरमा तमु समाज यूके विशिष्ट समाजसेवा सम्मान पत्र-२०२१ द्वारा सम्मानित गरिएको थियो । तमुधिं एसोसिएसन यूकेद्वारा यस वर्षको गोर्खा कप फुटबल प्रतियोगिता तथा नेपाली मेलाजस्तो बृहत् कार्यक्रमहरु भव्य सफलताको साथ आयोजना गरी बेलायतको नेपाली समुदायका विभिन्न सामाजिक संघ संस्थाहरुबीचको पारस्परिक सम्बन्धलाई सौहार्दपूर्ण वातावरणमा सुमधुर, सबल र प्रगाढ बनाउन उदाहरणीय तथा ऐतिहासिक कार्य गर्नुभएकोले तमुधिं एसोसिएसन यूकेका अध्यक्ष श्री हितकाजी गुरुङज्युलगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु तथा सदस्यहरुलाई हार्दिक धन्यवाद, बधाई तथा शुभकामनासहित विशेष योगदानको उच्च कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा रोयाल ग्रिनविच नेपाली सोसाईटीका संरक्षकजस्तो गरिमामय पदमा मनोनीत भएकोमा हरिगोविन्द गुरुङलाई तमु समाज यूकेका अध्यक्षद्वारा खादा र फेटा लगाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै तमु धिं यूकेको वर्तमान कार्यसमितिको अध्यक्ष हितकाजी गुरुङलगायत कार्यसमितिका पदाधिकारीहरु र आमा समूहका अध्यक्ष मञ्जु (सीता) गुरुङलाई कार्यकाल सफलताको शुभकामनासहित तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र आमा समूह अध्यक्ष उमादेवी गुरुङले सम्मान गरेको थियो ।

त्यस्तैगरी समाजको सामुदायिक भवनको प्रबन्धक बाबुराम गुरुङ र सह प्रबन्धकद्वय यामबहादुर गुरुङ र ईमान घलेलाई स्वयंसेवक प्रबन्धकको रुपमा अनवरत ३ वर्ष कम्युनिटी सेन्टरको संचालन, संरक्षण र ब्यबस्थापकीय योगदानको उच्च कदर गर्दै तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२१ बाट सम्मानित गरिएको थियो । सम्मानको क्रममा कला र संस्कृतिको माध्यमबाट समाजलाई विशेष योगदान दिने सुविना घले, प्रज्जु गुरुङ, ओसिएन राना, दिया लिम्बु सम्मानित गरिएको थियो भने समाजका विभिन्न कार्यक्रमहरुमा अनवरत रुपमा विशेष योगदान पुर्‍याउने, मनिका गुरुङ, रितिका गुरुङ र प्रज्वल मान गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तैगरी गोर्खा मिडियाले समाजमा सत्य तथ्य समाचार संप्रेषण गरेर र एक वर्षको छोटो समयमा ठूलो उपलब्धि हासिल गरेकोमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङलाई सम्मानित गरेको थियो भने गोर्खा मिडियाका मिलन गुरुङले सामाजिक जिबनका बिभिन्न पक्षमा योगदान दिएका गोर्खा मिडियाका सल्लाहकार तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई सम्मान गरेको थियो ।

सम्मानको कार्यक्रम समापनसँगै प्रमुख अतिथि, तमुधिं यूकेका अध्यक्ष र तमु समाज यूकेका अध्यक्षले संयुक्त रुपमा चौधौं वार्षिक उत्सवको अवसरमा केक काटेर हर्ष बढाइँ मनाएका थिए । केकको प्रायोजन सल्लाहकार काशीराज बोहोराले गरेका थिए, पेय पदार्थको प्रायोजनको निम्ति उपदेशक लामा सल्लाहकार प्रेम गुरुङले २०० पाउन्ड, सल्हाकारले, रि पन्चबहादुर गुरुङद्वारा १०० पाउन्ड, कार्यसमिति सदस्या नरबहादुर गरुङबाट १०० पाउन्ड, १ केस बियर आमा समूहका उपाध्यक्ष मथुरा गुरुङ, सल्लाहकार जुमबहादुर गुरुङबाट फलफूल, अध्यक्ष, शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र महासचिव धरम बल गुरुङबाट स्यामपेन प्रायोजना गरेको थियो । यसैगरी खानाको प्रबन्ध हरिमान गुरुङको संयोजकत्वमा रारा क्याटर्सले गरेको थियो । कार्यक्रमको फोटोग्राफी टेकबहादुर गुरुङले गरेको थियो भने भिडियोग्राफी गोर्खा मिडियाका मिलन गुरुङले गरेको थियो । साउन्ड सिस्टमको व्यवस्था बिशाल लामाले गरेको थियो ।

यसैगरी, सांस्कृतिक कार्यक्रमअन्तर्गत समाजका उपाध्यक्ष बिन्दु घले र बिमला गुरुङको कोरियोग्राफीमा कलाकारहरु, अर्जुन गुरुङ, बिमला गुरुङ, बिन्दु घले, रितु गुरुङ, प्रज्जु गुरुङ, सुविना घले, सुमी गुरुङको बेजोड नृत्यको प्रस्तुतिले कार्यक्रमलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा तमु धिं यूकेको अध्यक्ष हित काजी गुरुङ, तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, जुमकाजी गुरुङ, उपाध्यक्ष तुलाराम गुरुङ, महासचिव परशु गुरुङ, कोषाध्यक्ष कमल गुरुङ, खेलकुद सचिव क्या.देबबहादुर घले, तमु धिं यूकेको आमा समूहका अध्यक्ष मन्जु (सीता) गुरुङ, रोयल ग्रिनविच नेपाली सोसाईटीका संरक्षक हरिगोविन्द गुरुङ रहेका थिए । समाजका अध्यक्ष शिवकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई समाजका महासचिव धरमबल गुरुङ र निरज गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रम पूर्णरूपले मैत्रीपूर्ण कार्यक्रम साबित भएको थियो कारण कार्यक्रमका धेरै व्यक्तित्वहरु जसले समाजको उत्थान र परिवर्तनका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधैं आफ्नो समय र श्रम दिनुभयो । त्यसको मूल्यांकन गर्दै बधाई तथा सम्मानका कार्यक्रमहरू भयो । कार्यक्रममा उपस्थित गुरुङ ब्यक्तित्वहरुले तमु एकताको सन्देश बेलायतको राजधानी लन्डनबाट नेपाल लगायत बिश्वभरी रहेका गुरुङहरु माझ फैलाउनुपर्ने वा नमुना प्रस्तुत गर्नुपर्ने कुरामा जोड दिनुभयो

अन्तमा समाजका उपाध्यक्ष भिमबहादुर गुरुङले आमन्त्रित अतिथि गण, समाजका विशिष्ठ व्यक्तित्वहरु जस् जसले हरेक कोणबाट सहयोग गरेर यो कार्यक्रमलाई सफल पार्नु भएकोमा सबैलाई धन्यवाद दिँदै औपचारिक रूपमा कार्यक्रम समापन भएको घोषणा गर्दै अन्तमा डिजे सामूहिक नृत्यमा रमाउँदै कार्यक्रम विसर्जन भयो ।

(लेखक तमु समाज यूकेको मिडिया संयोजक हुन् ।)