चौधरी ग्रुपद्वारा गत आर्थिक वर्ष राजश्वमा १४ अर्ब २८ करोड योगदान
काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको जनाएको छ । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो । पछिल्लो वर्ष सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलब ७३ प्रतिशत रहेको छ । एउटा ब्यापारिक समूहबाट सरकारको राजश्वमा भएको संभवतः यो सबैभन्दा ठूलो योगदान भएको गु्रपका प्रवक्ता मधुसूदन पौडेलले बताए ।
कोभिड–१९ का कारण विश्वब्यापी अर्थतन्त्र ओह्रालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई ब्यापारिक कारोबारमा ब्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको जनाएको हो । गु्रपका अनुसार कम्पनीले विगत चार आर्थिक वर्षमा गरेको योगदान यस्तो छ ।
“कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ”, ग्रुपका अध्यक्ष चौधरीले भने, “स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावस्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।”
विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड रूपैयाँ योगदान गरेको छ । चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन् । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तिय क्षेत्रसम्म लगानी गरेको छ । चौधरी नेपालका एकमात्र डलर अर्बपतिको सूचिमा रहेका छन् ।
गत वर्ष कोभिडका कारण ग्रुपले संचालन गरेको सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए । स्वास्थ्य संकटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति श्रृंखलामा नराम्रो असर परेको थियो । ग्रुपका अधिकारीहरूले लकडाउन व्यहोर्नु नपरेको भए ग्रुपले सरकारको राजश्वमा गर्ने योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने बताउँछन् । “अर्को पक्षबाट हेर्दा यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई क्राईसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ”, ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, “हामी नेपालका धेरै क्षेत्रहरुमा लगानी विस्तार गरिरहेका छौँ र चालु आर्थिक वर्षको राजश्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ । नेपालको आर्थिक विकासको प्रक्रियामा उल्लेख्य योगदान गर्न पाउनु हाम्रा लागि सधैव गर्वको विषय हो ।”
यसैबीच, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले केन्द्रीय कमिटी बैठकमा विश्वको अर्बपतिको सूचिमा रहेका तर नेपाल सरकारलाई कर बुझाउनेमा भने नाम नआउने भनि विनोद चौधरीप्रति लक्षित टिप्पणीप्रति ग्रुपका प्रवक्ता पौडेलले भने, “यदि प्रधानमन्त्री भइसकेको व्यक्तिलाई यस विषयमा जानकारी नभएको हो भने त्योभन्दा दुःखद कुरा अरु के हुनसक्छ ? चौधरी ग्रुपले प्रत्येक वर्ष सरकारलाई बुझाएको करका बारेमा सार्वजनिक विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको छ । र, नेपालमा संभवतः हामीले मात्रै पारदर्शी रूपमा करको विवरण सार्वजनिक गर्दै आएका छौँँ ।”
उनले नेपालमा सबैभन्दा धेरै लगानी विस्तार गर्ने र कर तिर्नेमा चौधरी ग्रुप रहेको दाबी गरे । कोभिड संकटका वावजुद पनि चौधरी ग्रुपको अब्बल व्यवस्थापनका कारण राष्ट्रिय ढुकुटीमा ठूलो रकम योगदान गर्न सम्भव भएको उनले बताए । लगानी विस्तार, रोजगारी श्रृजना र विकास परियोजना कार्यान्वयन जस्ता राष्ट्रिय विकास एजेण्डाका बारेमा राजनीतिक पूर्वाग्रह त्याग्नु नै देशका लागि हितकर हुने सुझाव पनि पौडेलको छ ।
“पूर्व प्रधानमन्त्री ओलीको राजनीतिक पूर्वाग्रहका कारण सीजीले टेलिकममा लगानी गर्न पाएको छैन जसका कारण सयौँ रोजगारी गुमेका छन् । मुलुकले अर्बौंको राजश्व गुमाउनु परेको छ भने उपभोक्ता टेलिकममा सस्तो र गुणस्तरीय मोवाइल टेलिफोन सेवा उपभोग गर्नबाट बन्चित भएका छन् ।”