लरी चालकहरुको अभावले बेलायतमा इन्धन संकट, अस्थायी भिसाको ब्यवस्था

लण्डन । बेलायतमा लरी चालकहरुको अभावले गर्दा पर्याप्त इन्धन र खाद्यन्न आपुर्ती नहुँदा संकट चुलिएको छ । बिशेष गरेर पेट्रोल स्टेसनहरुमा इन्धन भर्नेहरुको लामो लाइन (क्यु) देखेको छ । त्यस्तै सुपर मार्केटहरुमा पनि खाद्यन्न अभाब हुने डरले मानिसहरुलाई धेरै मात्रमा सामानहरु किन्दा शेल्फहरु खाली देखिएका छन ।

इन्धन सप्लाई चेन इसो र बिपीले आफ्ना केही साइटहरुमा इन्धन अभाव भएको कुरा जानकारी गराएका छन् । बेलायती व्यापार मन्त्री ग्रेग ह्यम्ड्सले एक प्रतिशत भन्दा कम पेट्रोल स्टेशन बन्द भएका र पेट्रोल सहजै उपलब्ध हुने बताएका छन् । सरकारले जनतालाई इन्धन खरिदका लागि नआत्तिन अनुरोध गर्नुभएको छ ।

यो अभाव समाधानका लागि सरकारले विदेशी लरी चालक आउन सहज हुने गरी अस्थायी भिजा इस्किम ल्याउने तयारी गरेको बीबीसीले जनाएको छ । बेलायत सरकारले आगामी क्रिसमस सम्म पर्याप्त आपुर्ती गर्न कारीब ५ हजार अस्थायी भिजा जारी गर्ने तयारी गरेको छ र बेलायत प्रवेश गर्न यस्तो स्किम सिमित समयका लागि हुने बताइएको छ । त्यस्तै बेलायत सरकारले पल्ट्री फार्महरुमा काम गर्नेहरुको लागि पनि अस्थायी भिसाको ब्यवस्था गर्न लागेको छ ।

दि रोड हलेज एसोसिएसनले बेलायतमा एक लाख लरी चालक अपुग भएको अनुमान गरेको छ । कोरोना महामारीले चालक अनुमति पत्रका लागि परिक्षा रोकिनु अनि ब्रेक्जिटका कारण यूरोपेली मुलुकका कामदार स्वदेश फर्कनु चालक अभावको मुख्य कारक मानिएको छ ।