बेलायतको अल्डरसटमा भिक्टोरिया क्रस (भिसी) पाउने प्रथम गोरखा कुलवीर थापाको सालिक अनावरण

अल्डरसट, ह्याम्पसायर । बेलायतको अल्डरसटमा बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक आज अनावरण गरेको छ । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा थापाको मुर्ती स्थापना गरेको छ । बौद्ध र हिन्दू परम्पराअनुसार लामा अनि पण्डितले संयुक्त रुपमा पूजापाठ गरेपछि थापाको मुर्ती प्रतिस्ठापन गरेको थियो ।

बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणीकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिकको अनावरण गर्नुभएको थियो । समारोहमा सहभागी विशिष्ट अतिथीहरुले सालिकमा रिथ (पुष्पगुच्छा) अर्पण गरेका थिए भने दिवंगत गोर्खाहरुको सम्झनामा मौनधारण गरेको थियो ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा संकलन गरि सालिक निर्माण गरेको हो भने सालिक निर्माण परियोजनाको संयोजक क्याप्टेन रिटायर्ड ग्यारी घले हुनुहुन्छ । घलेका अनुसार सालिक निर्माणमा एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको छ र मूर्तिकार एमी गुडम्यानलाई एक्लैलाई करिब ७५ हजार पाउण्ड दिएको कुरा जानकारी गराउनुभयो ।

फोटो सौजन्य- मिलन तमु, गोरखा मेडिया

स्थानिय रसमोर बोरो काउन्सिलले अनुमती दिएपछि फेब्रुअरी २०१९ देखी मुर्ती बनाउने कार्य शुरु गरिएको थियो तर कोभिड महामारीको कारण मुर्ती प्रतिस्ठापन गर्ने समय केही लम्बिएर अहिले अनावरण सम्भव भएको हो । काउन्सिलले वर्षेनी एक पाउण्डमा ९९ वर्षको लिज दिएको छ । सालिक मर्मत सम्भार पनि काउन्सिलले नै गर्छ ।

बेलायत र गोरखाहरुको २०५ बर्षको लामो ऐतिहासिक सम्बन्ध रहेको छ । मुर्तीले गोरखाहरुको बहादुरी र योगदानलाई स्मरण गराउने कुरा मुर्ती निर्माण परियोजनाको संयोजक घलेले विश्वास ब्यक्त गर्नुभयो । त्यस्तै स्थानिय वेलिङटन काउन्सिलर जीव बेल्वासे आफ्नो टाउनमा सालिक निर्माण गोर्खा र सिभिल नेपाली दुवैका लागि गर्वको विषय भएको बताउंछन् । ‘अल्डरसटमा स्थानीय समुदायसंग नेपालीहरुको सुमधुर सम्बन्धको प्रमाण पनि हो यो’, उनले भने ।

कार्यक्रममा प्रोजेक्ट संयोजक मेजर (रि.) खिम गौचन र ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष रामधन राईले प्रोजेक्ट सफल पारिदिएकामा समस्त दाताप्रति आभार व्यक्त गर्नुभयो ।