नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल
काठमान्डौ । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाललाई बनाइने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले दाबी गरेका छन् । यो सहमति आज बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र घोषणा गरिने ती नेताको दाबी छ ।
महासचिवमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेललगायत नेताले पनि दाबी गरेका थिए । सचिवालय बैठकमा भुसाललाई नै महासचिव बनाउने सहमति जुटेको हो । मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्दै छ । बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्ने एक नेताले बताए ।
एकीकृत समाजवादीको अन्तरिम विधानअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहनेछन् । यी सबै गरेर ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ ।
यस्तै केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहनेछन् ।
नेकपा एकीकृत समाजवादीले टुंग्यायो पदाधिकारी चयन, काे के बने?
नेकपा एकीकृत समाजवादीले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको छ । बिहीबार बिहान बसेको सचिवालय बैठकले बेदुराम भुसाललाई महसचिव बनाउने निर्णय गरेकाे हाे । यस्तै बैठकले चार उपाध्यक्ष्यमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राईलाई चयन गरेकाे एक नेताले जानकारी दिए ।
यस्तै तीन उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन गरिएकाे छ भने चार जना सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई बनाइएको छ । यी नाम बिहीबारै बस्ने केन्द्रीय कमिटी बैठकले पास गर्नेछ ।