कोठा नदिने सरस्वती प्रधानलाई जिल्ला अदालतले एक लाख १५ हजार धरौटी तिर्न आदेश

काठमाडौँ – दलित भएकै आधारमा कोठा नदिएको आरोप खेपेकी सरस्वती प्रधानसँग काठमाडौँ जिल्ला अदालतले एक लाख १५ हजार धरौटी तिर्न आदेश दिएको छ । बबरमहलकी प्रधानले तनहुँकी सञ्चारकर्मी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् ।

त्यसका विरुद्ध सुनारले दिएको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले प्रधानविरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार मुद्दा दायर गरेको थियो । बुधबार प्रधान इजलास समक्ष उपस्थित भएपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालत उपस्थित भएकी प्रधानलाई बयान गराएर थुनछेक बहसपछि एक लाख १५ हजारमा रिहा गरिएको हो ।

प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएपछि तत्काली शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ गएर उनलाई सिंहदरबार वृत्तबाट लगेका थिए । त्यसका विरुद्ध सुनार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले मन्त्री श्रेष्ठसहितलाई निष्पक्ष छानबिन गर्न आदेश दिएको थियो ।