परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त, सपथ लगत्तै आजै अमेरिका जाने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइसकिएको जनाएको छ । परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ ग्रहण भने बाँकी रहेको सचिवालयले जनाएको छ । खड्कालाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् ।
आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क प्रस्थान गर्नेछन् ।
सत्तारुढ गठबन्धनको हिजोको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसले लिने सहमति भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रको जिम्मेवारी खड्कालाई दिने बताएका थिए । शपथका लागि खड्कालाई तयार अवस्थामा रहन प्रधानमन्त्रीको सचिवालयले भनिसकेको छ । ‘आज ११–१२ बजेतिर शपथ हुन्छ । आजै पदभार सम्हाल्नुहुन्छ र आजै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जानुहुन्छ’, खड्काका राजनीतिक सहयोगीले नेपाल प्रेससँग भने ।
उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् ।
हाल उनी कांग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका छन् ।
देउवाको रोजाइमा किन परे नारायण खड्का ?
नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले आज परराष्ट्रमन्त्रीको शपथ लिँदैछन् । र, शपथ लिएकै दिन उनी परराष्ट्र मन्त्रालयको टोली लिएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका उड्दै छन् । नेपाली काँग्रेसबाट सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल र विनोद चौधरीले परराष्ट्रमन्त्रीमा दाबी गरे पनि अन्ततः देउवाको रोजाइमा खड्का परेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्रन्त्रीमा खड्काको नाम प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री देउवाले काँग्रेसबाट मन्त्री छान्दा विगतमा नेपाली काँग्रेस पार्टी विभाजनमा आफूलाई साथ दिएकाहरूलाई पहिलो प्राथमिकता दिएको देखिन्छ । पार्टी विभाजनमा साथ दिएका बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले गृह र कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् । यसमा अब खड्का पनि थपिएका छन् ।
काँग्रेसमा देउवा र खड्का एउटै कित्तामा छन् । विगतमा कोइराला परिवारसँगको लडाइमा खड्काले देउवालाई साथ दिएको देखिन्छ । तत्कालीन वरिष्ठ नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको जगमा काँग्रेस विभाजन हुँदा खड्का देउवासँगै गएका थिए । देउवाले काँग्रेस विभाजन गरेर काँग्रेस (प्रजातान्त्रिक) गठन गर्दा खड्काको बलियो साथ थियो । तर, पार्टी एकता भएपछि भने खड्का देउवासँग टाढिएका थिए । १२ औँ महाधिवेशनमा देउवा क्याम्प छोडेका खड्का १३ औँ महाधिवेशनपछि फेरि देउवासँग नजिकिए ।
पार्टीको राजनीतिमा पनि खड्काको उपस्थिति राम्रै छ । काँग्रेसको १२ औँ महाधिवेशनदेखि खड्का केन्द्रीय कार्यसमितिमै छन् । खड्कालाई काँग्रेसमा विकासवादी नेताका रूपमा लिइन्छ । तर, उनको रुचि भने वैदेशिक मामिला तिरै बढी देखिन्छ । खड्काले वैदेशिक मामिलाबारे दुईवटा किताब लेखेका छन् ।
खड्काले पछिल्लो समय वैदेशिक नियोगका पदाधिकारीलाई देउवासँग भेटघाट गराउने सूत्रधारका रूपमा काम गर्दै आएका थिए । सरकार निर्माणका सन्दर्भमा पनि बाह्य वातावरण मिलाउने भूमिकामा खड्का अग्रसर थिए । वैदेशिक मामिलामा रुचि राख्ने खड्काले पछिल्लो समय मित्रराष्ट्रहरूसँग देउवाको सम्बन्ध नवीकरण गर्न राम्रै भूमिका खेलेको काँग्रेस नेताहरू बताउँछन् । योबीचमा देउवासँग विदेशी प्रतिनिधिले गर्ने भेटघाटमा खड्का प्रायः सँगै हुन्थे । संसद् विघटनपछि राष्ट्रिय राजनीतिबारे देउवा र खड्काको धारणा पनि समान थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र नीति खलबल्याएको प्रधानमन्त्री देउवा र खड्काको साझा निष्कर्ष छ । त्यसलाई ट्रयाकमा ल्याउन परराष्ट्र मन्त्रालय काँग्रेसले नै राख्ने नीतिअनुसार नै खड्कालाई परराष्ट्रमन्त्री बनाइएको काँग्रेस नेताहरू बताउँछन् ।
को हुन् खड्का ?
विसं. २००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खडकाको कोखबाट जन्मेका डाक्टर खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी (पीएचडी) गरेका छन् । खड्काले २०२३ बाट नेपाली काँग्रेसको राजनीति थालेका थिए । विद्यार्थी संगठनबाट राजनीतिमा आएका खड्का विराटनगर र काठमाडौँमा पटक–पटक पक्राउ परेका थिए । उनले लामो समय काँग्रेस संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका विश्वास पात्रका रूपमा काम गरे ।
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा खड्का उनको प्रमुख राजनैतिक सल्लाहकार भएका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा खड्का सहरी विकास मन्त्री भएका थिए । २०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछि पछाडि फर्किनु परेको छैन । ०६४ सालको संविधानसभामा उदयपुरको क्षेत्र न १ बाट खड्का विजयी भएका थिए । त्यसबेला उनले माओवादी केन्द्रका राजन किराँतीलाई पराजित गरी संसदीय यात्रा तय गरेका थिए ।
यस्तै २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर १ नम्बर क्षेत्रबाटै खड्काले विजय हासिल गरेका थिए । ०७४ मा बाम गठबन्धन बनेपछि काँग्रेसका घाघडान नेता पराजित हुँदा पनि उदयपुर क्षेत्र नम्बर १ बाट खड्का प्रतिनिधिसभामा निर्वाचित भए । वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी मञ्जु चौधरीलाई ५४८ मतान्तरमा खड्काले जितेका हुन् ।