भारतले खोप निर्यातमा लगाएको रोक हटायो

एजेन्सी । भारतले यसअघि कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोक हटाएको छ । भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा विदेशमा खोपमा लगाएको रोक हटाएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले खोपमा लगाइएको रोक हटाइएसँगै अब छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको समेत बताएका छन् । विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो ।

खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महिनासम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गर्ने योजना रहेको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ‘हामी अन्य देशहरूलाई सहयोग गर्नेछौं र कोभ्याक्स प्रति हाम्रो जिम्मेवारी पनि पूरा गर्नेछौं,’ उनले पत्रकारहरूलाई भने । यसरी भारतले खोप निर्यातमा लगाएको रोक हटाएसँगै अब नेपालमा यसअघि खरिद गरेको र आउन बाँकीमध्ये १० लाख डोज कोभिसिल्ड खोप छिट्टै आउने सम्भावना बढेको छ।

नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई अग्रीम भुक्तानीसमेत गरिसकेको छ। नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ ।