राष्ट्रपतिबाट ९०३ जनालाई विभूषण, केहीले बिभुषण नलिने

रासस ।

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । उहाँले २०४७ सालको संविधान जारी गर्नुको साथै निर्वाचनसमेत गराउनुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पु-याउनुभएका भट्टराई नेपाली राजनीतिमा सन्त नेताका रूपमा चिनिनुहुन्छ । उहाँ अविवाहित नेता हुनुहुन्थ्यो ।

यसैगरी, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुर्वणशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव मान–पदवी प्रदान गर्ने घोषणा भएको छ । यसैगरी, महाउज्ज्वल राष्ट्रदीप सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राजनीतिज्ञ स्व. तुल्सीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह र मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ । त्यसैगरी, सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने भएको छ ।उज्ज्वल कृतिमय राष्ट्रदीप मान–पद्वीबाट सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

यसैगरी, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिने भएको छ । जसमा न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल, तेजबहादुर केसी, महालेखा परीक्षक टङ्कमणि शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती, धर्मगुरु आत्मानन्दन लिङ्देन, राजनीतिज्ञ स्व. चक्रप्रसाद बाँस्तोला हुनुहुन्छ । त्यसैगरी, स्व. द्वारिकादेवी ठकुरानी, स्व. सिद्धराज ओझा, स्व. भीमदत्त पन्त, स्व. योगेन्द्रमान शेरचन, स्व. दिवानसिंह राई, तेजबहादुर अमात्य, अरविन्दकुमार ठाकुर, स्व. भूविक्रम नेम्वाङ, स्व. क्या. यज्ञबहादुर थापा, स्व. थीरबम मल्ल, स्व. सरोज कोइराला, स्व. टेकबहादुर चोख्याल, स्व. शिवराज पन्त, स्व. एनडी प्रकाश चटौत, स्व. दुर्गादत्त जोशी, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ ।

पत्रकार हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण नलिने

न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणाकाे निर्णय आइतबार सार्वजनिक गरेकी थिइन् । उक्त सूचीमा थापाको नाम ‘सुप्रबल जनसेवाश्री’ पदक पाउनेको १२औँ नम्बरमा छ ।

तर, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद । विगतमा मलाई पदकका लागि पटक-पटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’ उनले राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभई सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने बताएका छन् । ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले लेखेका छन् ।

कार्टुनिष्ट रविन सायमीले विभूषण नलिने

कार्टुनिष्ट रविन सायमीले सरकारबाट दिइएको विभूषण नलिने घोषणा गरेका छन्। उनले सामाजिक सन्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’ संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिबाट बिभुषण पाउनुहुनेहुनेहरुको नामवली