एनआरएनएको तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु, लण्डनमा औपचारिक समुध्द्घाटन

लन्डन । एनआरएनएको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु भएको छ । अनऔपचारिक रुपमा हिजो सेप्टेम्बर १७ तारिख शुक्रबारबाट शुरु भएता पनि आज सेप्टेम्बर १८ तारिख शनिबार लण्डन स्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात गरिएको छ । बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्य मंत्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मंत्री श्रेष्ठले कोरोना महामारीको शुरु देखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैर आवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिनुभयो । उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुर्याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको कुरा बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले विदेशका रहेका नेपालीहरूमा प्रशस्त सम्भवना रहेको कुरा बताउनुहुँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गर्नुभयो । शर्माले संघ कोरोना महामारीमा बिदेशमा अलपत्रमा परेका नेपालीहरूको उद्धारमा खटिएको जानकारी गराउनुभयो ।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धि सबैभन्दा ठूलो फोरम भएको बताउनुभयो । उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिनुभयो । महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने बताउनुभयो । उनले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दा बढी कार्यशाला सन्चालन गरी समूहगत छलफल हुने कुरा जानकारी गराउनुभयो ।

नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिटले ब्रिटेनले नेपालको स्वास्थ्य सेवा लाई बलियो बनाउन लामो समय देखि सघाउदै आएको बताइन । उनले कोभिड १९ संग जुध्न ब्रिटेनले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । उनले सबै जनतालाई खोप पुर्‍याउनु तथा कोभिड १९ संग जुध्न नेपाल सरकारले गरिरहेको काममा सघाउन अन्तर्राष्ट्रिय समुदाय तयार रहेको पनि बताइन् ।

सम्मेलनको सह-आयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले सम्मेलनकै क्रममा आइतबार भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको स्वास्थ्य परिक्षण तथा च्यारिटी डिनरको कार्यक्रम रहेको कुरा जानकारी गराउनुभयो र उपस्थितिको लागि अनुरोध गर्नुभयो ।

सम्मेलनका लागि यूके संयोजक डा. सुनील साहले हामीले यो महामारीबाट के सिक्यौं, अब के गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको कुरा बताउनुभयो । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ्ग संघकी अध्यक्ष प्राध्यपक मन कुमारी राई, (वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, (वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि लगायतका वक्ताले शुभकामना दिनुभएको थियो ।

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्राध्यपक पदम सिम्खडा तथा डा बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गर्नुभएको थियो । त्यस्तै डा एलिनी सुवेदी पोखरेलले संघको स्वास्थ्य समितिले भारतमा संचालन गरेको कार्यक्रमबारे जानकारी दिइन् ।

कार्यक्रमको संचालन आयोजक समिति सदस्य प्रसुना कँडेलले गरेकी थिइन् भने लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सबै सहभागीहरुलाई स्वागत गरेकी थिइन् । शुक्रबार बिहान भर्चुएल माध्यमबाट शुरु भएको सम्मेलन आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुने छ ।