सभामुखकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ – संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको ल्होत्से हलमा बस्ने छ । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले सदर नगरेको विरोधमा नेकपा एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म संसद अवरोध कायमै राख्ने अडान लिएको थियो । त्यसपछि सापकोटाले बैठक बोलाएका हुन् ।

एमालेले २३ भदौयता प्रतिनिधिसभाका बैठकमा अवरोध गर्दै आएको छ । एमाले अवरोधकै बीच चालू आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटसमेत पेश भएको छ । एमालेको अवरोधका कारण संसदको अर्को बैठक भदौ २९ गते बस्ने गरी स्थगित गरिएको छ ।