व्यवसायी रुक्मशमशेर राणाको निधन
काठमाण्डौ । ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । राणाका ज्वाइँ अनिलकेशरी शाहका अनुसार उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए ।
काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो ।
नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए । भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुन् ।
राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् ।
उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म उक्त पदमा रहेर काम गरेका थिए । उनको जन्म सन १९३६ मार्च १२ मा भएको थियो ।
उनका ज्वाइँ अनिलकेशरी शाहका अनुसार राणाको आइतबार दाहसंस्कार गरिनेछ ।