“जीवनको मुल्य” सबैभन्दा महत्वपूर्ण समय बर्तमान

प्रसिध्द लेखक माइ वेष्ट भन्नुहुन्छ- “तिमी एक पटक मात्रै बाच्छौ तर सही तरीकाले बाच्ने हो भने त्यो एक पटक नै पर्याप्त छ” । जीवन भनेको सिकाई, भोगाइ र गराईको समग्र अनुभव हो । जीवनमा सबै कुरा तपाईले सिकेर सम्भव हुदैन न त भोगेर संभव छ न त गरेर मात्र संभव छ । त्यसैले केही सिक्नु, केही भोग्नु र केही गर्नु को समग्र रुप नै जीवन हो । यदी तपाईलाई आजको दिन तपाईको जीवनको अन्तिम दिन भन्ने थाहा भएको भए के तपाईले त्यही काम गर्नु हुन्थो जुन अन्य दिन गर्नु हुन्थ्यो ?

जीवनलाई सधै एउटै गोल चक्करमा घुमाई रहनु भनेको कम्फ़र्ट जोन (सुरक्षित स्थान) मा बस्नु हो । यसले जीवनमा न उत्साह दिन्छ न उमंग ! त्यसैले सुरक्षित स्थानबाट अलि बाहिर निस्कने कोशिष गरौ । जीवन जिउन एकदमै थोरै समय हुन्छ फेरि दोश्रो जीवन न तपाईलाई थाहा छ न मलाई ! यो जीवनमा पाउनु भएको समयको धेरै भन्दा धेरै सदुपयोग गरेर मज्जा लिनु होस । नयाँ कुरा सिक्नु होस्, नयाँ सम्बन्ध बनाउनु होस्, नयाँ अनुभव लिनु होस्, कुनै कुरामा पनि पश्चाताप नगर्नु होस्, हरेक दिनको हरेक घटनालाई आनन्दित भएर ग्रहण गर्नु होस्, कुनै कुराले तपाईलाई सिकाउदछ भने कुनै कुराले जीवनमा उमंग भर्छ । कुनै कुराले जीवनमा उर्जा थप्छ बस बाक़ि सब तपाईले लिने तरिकामा भर पर्छ । मैले भएको कुरालाई बिर्सने वा बेवास्था गर्नुपर्दछ भनेको पटकै होइन, मात्र नयाँ अनुभव, फरक सिकाई र भोगाईले जीवन जिउनुको अर्थ बुझाउदछ भन्ने हो । कुनै पनि घटना घट्छ भने त्यो बितिसक्यो त्यसलाई पहिले कै अवस्थामा लान सकिदैन यदी तपाईले पहिलेकै अबस्थाको कल्पना गर्नु भयो भने कि तपाई निराश बन्नुहुन्छ कि तपाई नकारात्मक प्रतिक्रिया दिन सुरु गर्नुहुन्छ त्यसको कुनै अर्थ नै रहदैन । जस्तो कि १ पटक जन्मिसकेको बच्चालाई आमाको गर्भमा राख्न जति असंभव छ या कल्पनै गर्न सकिदैन हो त्यस्तै हो हाम्रो जीवनमा घट्ने हरेक घटनालाई घटना नघटेको अवस्थामा लान सकिदैन । घटनाको सकारात्मक पाटोलाई पहिल्याउने कोशिस गर्नुहोस् । संसारको हरेक कर्मको सकारात्मक र नकारात्मक पाटो हुन्छ । जीवनलाई सार्थक बनाउन हरेक चिज, घटना, बस्तुको सकारात्मक पाटोलाई महत्व दिनु भयो भने जीवन खुशी र उत्साहमा अघि बढ्दछ ।

मनमा लागेको कुरा बोल्नु होस्, कसैलाई भन्नु पर्ने कुरा भन्नु होस्, ब्यक्त गर्नुपर्ने वा गर्न मन लागेको भावनाहरु एकअर्कालाई/सँग बाढ्नुहोस् । मनमा लागेको कुरा भन्नु भएन भने भोलि गुमाउनु पर्ने पनि हुनसक्छ । सायद तपाईले जीवन भर त्यो ब्यक्तिलाई नभेट्न पनि सक्नु हुनेछ । त्यसैले हरेक अवसरको सदुपयोग गर्नु होस्।

सबैले आफैलाई फर्केर हेरौ त ! हाम्रो हरेक दिन गर्ने कार्ययोजना बिहान उठ, खाजा खाउ, काममा जाउ, घर आउ, अनि खाना खाउ र सुत । सायद ५०% भन्दा बढीको दैनिकी यस्तै हुन्छ । १ दिन होइन, १ महिना होइन, १ बर्ष होइन बर्षौदेखि यही कन्फर्ट जोन (सुरक्षित) मा दिन चार्य चलेको हुन्छ।

यस्तो जीवन भनेको सास त फेरीएको हुन्छ तर अघोषित मृत जीवन जस्तै हो । त्यसैले भनिन्छ नि बरु बदनाम हुनु गुमनाम नहुनु । जीवनलाई भरपुर सदुपयोग गरौ । हरेक दिन कुनै न कुनै फरक काम गर्नु होस्, फरक कुरा सिक्नु होस्, फरक अनुभव लिनु होस् यसले तपाईको जीवनमा प्रगतिको ढोका मात्र खोल्दैन जीउनुको मजानै बैग्लै बनाई दिन्छ । धेरै ब्यक्तिले के सोच्छन् र भन्छन् भने- म अरु जस्तो होइन, मलाई अरु जस्तो नसोच्नु होस् । वास्तविकता के हो भने हरेक मानव आफैमा पृथक छ, सबै भन्दा फरक छ तर तपाई आफुलाई अरु जस्तै बनाउन हरेक बन्धनको घेरामा बाध्ने कोशिश गर्नु हुन्छ र तपाई अरुको अनुसार ले जिउने कोशिस गर्नुहुन्छ तपाईले यि सब गल्ती गर्दैछु भनेर बुझ्दा तपाईको समय बितिसकेको हुनेछ । सबै कुरा आफ्नै गराईबाट सिक्न मानव जीवनको लागि सिमित समय छ । त्यसैले हामीले अरुलाई हेरेर पनि धेरै कुरा सिक्न सकिन्छ ।

धेरै मानिसको समस्या भनेको अरुसँग आफुलाई तुलना गर्नु हो । त्यस्तै अरुले के भन्लान भनेर पनि कहिलेकांहि आबश्यक भन्दा बढी सोच्छौ । सोच्नु र बुझ्नु पर्ने कुरा के हो भने तपाईको बारेमा अरुले सोचिरहने फुर्सद नै हुदैन, त्यसैले अरुले के सोच्लान भन्ने भ्रमलाई तुरुन्तै त्यागौ । त्यस्तै प्राय मानिसको समस्या भनेको दोधारमा रहनु पनि हो । आफुले गरेको हरेक कर्मलाई ठीक गरे की बेठीक गरे भनेर त्यसैको बारेमा हरेक दिन नकारात्मक चिन्तन गर्नु हो । ठिक र बेठीक यी सब भ्रम हुन् । तपाईलाई ठीक लागेका कुरा अरुलाई बेठीक लाग्न सक्छन्, तपाईलाई बेठीक लागेका कुरा अरुलाई ठीक लाग्न सक्छन् । हरेक घटना या परिणामको लागि तपाईको बराबरी भागेदार हुन्छ । हामी सधै दोष अरुलाई थोपरी दिन्छौ तर आफु स्वयमको जिम्मेवारी र जवाबदेहीतालाई स्विकार गर्दैनौ र दोधार गरिरहन्छौ । यदि तपाईले सहज रुपमा लिनु भयो भने हरेक कुरामा आनन्दित बन्नु हुन्छ।

अन्तिममा बुझ्नै पर्ने कुरा के हो भने- हिजो तपाईसँग जे थियो आज नरहन सक्छ, आज जे छ भोली त्यो पनि नरहन सक्छ । तपाई कै जीवनको त ग्यारेन्टी छैन भने अरुको लागि आफुलाई नै सकुंचित घेरामा बाध्नु चै मुर्खता हुन्छ। त्यसैले बर्तमानको भरपुर सदुपयोग गरेर सधै जीवनको मजा लिनुहोस् । पल पल खुशी, उमंग र उर्जामा बाच्नु होस् । यो नै जीवनलाई सार्थक बनाउने अन्तिम बिकल्प हो । फेरी पनि भन्छु जीवनलाई गोल चक्करमा नघुमाउनु होस् । थोरै फरक अनुभव लिनु होस्, थोरै उमंग भर्नु होस् जीवनको अधिकतम मजा लिनु होस् । भोलि के हुन्छ कसैलाई थाहा छैन, त्यसैले हरेक दिनलाई भरपुर सदुपयोग गर्नु होस् । किनभने Mae West ले भने झै तिमी एक पटक मात्रै बाच्छौ तर सही तरीकाले बाच्ने हो भने त्यो एक पटक नै पर्याप्त छ ।

(लेखक एस के श्रेष्ठ जीवन प्रेरक हुनुहुन्छ, साथै खबर यूकेको संस्थापक सदस्य पनि)