सनमन गुरुङ्गको “माँझी दाई” असोज १ गते युट्युबमा रिलिज हुँदै
लन्डन । पुरानो घर पोखरा राम बजार पेन्सन क्याम्प भई हाल लन्डन बस्दै आउनु भएका सनमन गुरुङ्गले “माँझी दाई” बोलको गीत आगामी असोज १ गते आफ्नै युट्युब च्यानल मेरो संसारमा रिलिज गरिने कुरा खबर यूकेलाई जानकारी गराउनुभएको छ । कालिका माध्यमिक पोखराको भुपु शिक्षक सनमन उही बेलादेखि कबिता अनि गीत लेखनमा रुचि राख्नुहुन्थ्यो । विभिन्न कारणबस संगीत क्षेत्रमा चाहिए अनुसार वा पूर्ण रुपमा लाग्न नसके ता पनि पछिल्लो समय कामसँगै आफ्नो रुचिको क्षेत्र गीत संगीतमा केही गर्ने प्रयास गरिरहेको छ । फलस्वरुप आफ्नै रचना अनि संगीतमा “माँझी दाई” बोलको गीत सार्बजनिक गर्न लागेको हो ।
सनमन गुरुङको आफ्नै रचना तथा संगीत भरेको उक्त माझी दाई गीत कालिका स्कुल पोखराको शिक्षक ज्ञान थापाले स्वर दिनुभएको छ भने संगीत मिलाउने काम चाहिं देउराली ब्याण्ड पोखराको सदस्य तेज केसीले गर्नुभएको छ । पोखराको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतमा युबराज गुरुङ्ग, अमृता मगर तथा बसन्त थापाले अभिनय गर्नुभएको छ ।
म्युजिक भिडीयोको निर्देशन कलाकार युवराज गुरुङ्ग स्वयमले गर्नुभएको हो भने क्यामेरा भिम तिमील्सिना र इडिटिङ्ग अनिल शाहीले गर्नुभएको हो । गीत पोखराको एपोस्टल स्टुडियोमा रेकर्ड गरिएको हो भने रेकर्ड तथा मिक्सिङ्ग अनिल शाहीले गर्नुभएको हो । माँझी दाई गीत असलसाथी प्रडक्सनले बजारीकरण गर्न लागेको छ । गीत निर्माणमा अरुण लामा तथा श्रीमती मन्जु लामा गुरुङ्गले बिशेष सहयोग गर्नुभएको थियो ।
भुपु शिक्षक सनमन फुटबलमा पनि उत्तिकै दख्खल हुनुहुन्थ्यो । उहाँ गण्डकी अंचलको फुटबल खेलाडी हुनुहुन्थ्यो । सानै देखि कबिता, गीत र संगीत क्षेत्रमा रुचि राख्नुहुने सनमन आफ्नो पहिलो प्रयासले सफलता पाउनेमा आशातित हुनुहुन्छ । गुरुङ्गले सबैको साथ र सहयोगको अपेक्षा तथा अनुरोध गर्नुभएको छ ।