अन्ततः विवेकशील र साझा छुट्टिने

काठमाडौँ– वैकल्पिक राजनीतिक शक्तिको आवरणमा जन्मिएका विवेकशील र साझाको जुट र फुटको अर्को श्रृंखला शुरु भएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दक्षिणपन्थी धारको नेतृत्व गरेको भन्दै पूर्व विवेकशील समूह त्यसबाट अलग हुने भएको हो । मिश्रले पार्टीको विधान र घोषणा विपरित दस्तावेज ल्याएको तथा अध्यक्ष र संयोजकको सहमतिबिना बैठक बोलाउन नमिल्नेमा एकलौटी बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेको समूहले त्यसको विरोध गर्दै आएको छ ।

पार्टीभित्र दक्षिणपन्थ र एकाधिकारवादको बहुमत सदस्य विरोधमा रहेको भन्दै आफ्नो पल्लाभारी रहेकोले पार्टी फुटाल्नेतर्फ अग्रसरता नलिने पाण्डेले बताए । ‘तर मिलन पाण्डे लगायतको समूहलाई निकालेर उहाँहरूले दलको आधिकारिकता दाबी गर्न उहाँले ५१ प्रतिशतलाई निर्वाचन आयोगमा लाइन लगाएको हेर्न चाहान्छु,’ संयोजक पाण्डेले भने । पाण्डे समूहको बैठक अहिले ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ । रवीन्द्र मिश्रले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठक पनि आजै १२ः३० बजेका लागि तय भएको छ ।

पाण्डेको समूहले आज ११ एजेण्डामा छलफल गर्दैछ । उनीहरुले बैठक सञ्चालन कार्यविधि पारित गर्ने, विधान कार्यदलले पेस गरेको पार्टीको विधान मसौदामा छलफल गर्ने, न्याय तथा सुशासन आयोगको गठन, वैकल्पिक पाठशाला स्थापना र पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, समसामयिक राजनीतिक प्रस्ताव, एकता महाधिवेशन, पार्टी प्रवक्ता नियुक्ती, पार्टी सांगठनिक सुदृढीकरण अभियानका लागि कार्यदल गठन, प्रमुख राष्ट्रिय मुद्दाहरू (युवाका मुद्दा) लगायतका एजेण्डामा छलफल गर्दैछन् ।