रोनाल्डोको विश्व किर्तिमनी गोलमा पोर्चुगलको शानदार जित

एजेन्सी । क्रिष्टियानो रोनाल्डोको विश्व किर्तिमानी गोलमा पोर्चुगलले फिफा विश्वकप छनौटको खेलमा रिपब्लिक अफ आयरल्याण्डामाथि शानदार जित हासिल गरेको छ । बुधबार राति पोर्चुगलको स्टाडियो डो अल्गार्भेमा सम्पन्न विश्वकपको छनौट खेलको अन्तिम समयतिर रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई आयरल्याण्डमाथि २–१ गोल अन्तरको जित दिलाएका हुन् ।

३६ वर्षिय रोनाल्डोले अन्तिम समयतर्फ लम्किएको खेलमा दुईवटा हेडर गोल गर्दै पुरुष अन्तराष्ट्रिय फुटबलमा ब्यक्तिगत सबैभन्दा बढी गोलको किर्तिमान भंग गर्दै आफ्नो गोल संख्यालाई अघि बढाए । यसअघि खेलको १५औं मिनटमा रोनाल्डो पेनल्टीमा गोल गर्नबाट चुकेका थिए । पहिलो हाफको अन्तिम मिनटमा जेमी मेकग्राथको पासमा जोन इगानले गोल गर्दै आयरल्याण्डले खेलमा १–० गोल अन्तरको अग्रता कायम गरेको थियो ।

पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको पोर्चुगलका लागि रोनाल्डोले निर्धारित समय सक्किन एक मिनटको समय बाँकी रहँदा गोन्कालो गुइडेसको पासमा बराबरी गोल फर्काए । यो उनको अन्तराष्ट्रिय करियरको ११०औं तथा विश्व किर्तिमनी गोल समेत थियो ।

यसअघि इरानको अलि देइको नाममा यो किर्तिमान रहेको थियो । उनले पुरुष अन्तराष्ट्रिय फुटबलमा १०९ गोल गर्दै आफ्नो नाममा विश्व किर्तिमान रचेका थिए । देइले सन् १९९३ देखि २००६ सम्मको आफ्नो अन्तराष्ट्रिय करियरको दौरान किर्तिमान बनाएका थिए । देइको यो किर्तिमानलाई रोनाल्डोले युरो २०२० को दौरान फ्रान्सबिरुद्ध दुई गोल गर्दै बराबरी गरेका थिए ।

यसपछि रोनाल्डोेले निर्धारित समयपछि थपिएको इन्ज्युरी समयको छैठौं मिनटमा जोआओ मारियोको पासा हेडरमार्फत गोल गर्दै पोर्चुगललाई शानदार २–१ गोल अन्तरको जित दिलाए । यो उनको करियरको १११औं अन्तराष्ट्रिय गोल हो । यसबाहेक रोनाल्डोले सर्जियो रामोसको नाममा रहेको सबैभन्दा बढी अन्तराष्ट्रिय खेल खेलेको युरोपियन किर्तिमानको पनि बराबरी गरेका छन् । सबैभन्दा बढी अन्तराष्ट्रिय खेल खेलेको विश्व किर्तिमन भने मलेसियन फुटबलर सोह् चीन आनको नाममा रहेको छ । उनले सन् १९६९ देखि १९८४ सम्मको करियरमा १९५ खेल खेलेका थिए ।

जितसँगै पोर्चुगल विश्वकप युरोपियन छनौट अन्तर्गत समूह ए को शिर्षमा पुगेको छ । उसको ४ खेलमा १० अंक भएको छ । यस्तै यसै समूहको दोश्रो स्थानमा ३ खेलमा ७ अंक जोडेको सर्बिया छ भने लक्जमबर्ग ३ खेलमा ६ अंकका साथ तेश्रो स्थानमा छ । हारको सामना गरेको आयरल्याण्ड तिन खेलाम अंकविहिन रहँदै पुछारमा छ ।