लण्डन साउथ इष्ट स्थित डाइमण्ड बुध्दिष्ट सेन्टरले गुम्बाको लागि भवन खरिद

साउथ इष्ट लण्डन । नेपालीहरुको घना बस्ती रहेको ईलाकाहरु मध्ये एक लण्डन साउथ इष्ट स्थित डाइमण्ड बुध्दिष्ट सेन्टरले गुम्बाको लागि हालै भवन खरिद गर्न सफल भएको कुरा यस डाइमन्ड बुध्दिष्ट सेन्टरका महासचिब योगेश गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । बेलायतमा समाज घर वा गुम्बाको लागि भवन खरिद गर्नु निक्कै जटिल हुन्छ तर “तिमी आँट म पुर्याइ दिन्छु ” भने जस्तो सकरात्मक सोच र ढ्रिढ आत्मा विश्वास साथ डाइमण्ड बुध्दिष्ट कम्युनिटी लागीपरे । अन्तत: साउथ इष्ट लन्डनमा गुम्बाको अभाबलाई पुर्ती गर्न सफल भयौ- हर्षित हुँदै महासचिब गुरुङले खबर यूकेलाई सफलताको समाचार सुनाउनुभयो ।

गुरुङको अनुसार सन २०१६ सालमा जम्मा २१ जना बौद्ध अनुयायीहरुको उपस्थितिमा Diamond Buddhist Centre UK को स्थापना गरिएको थियो । कठिन निस्वार्थ परिश्रम, त्याग, तपस्या, सबैको बिशुद्द सहयोग, भगवान बुध्दको कृपा र पुज्यानिय गुरुको आशीर्वादले गर्दा नै आज ६ बर्षको छोटो समयमै सम्पूर्ण बौध्द भक्तजनहरुको सुन्दर सपना पूरा भएको छ, उहाँले भन्नुभयो । साउथ इष्ट लण्डनमा बसोबास गर्ने बुध्द अनुयायीहरुको लागि यो गुम्बा बरदान हुनेछ ।

सेन्टरको आफ्नै एक लाख एकाइस हाजर पाउण्ड, श्रध्दालु भक्तजनहरुबाट बयासी हाजर पाउण्ड निर्ब्याजी रकम र अन्य आर्थिक सहयोगबाट १६६८ स्क्वायर फीटमा फैलिएको उक्त भवन दुई लाख तिरासी हाजर पाँचसय पाउण्डमा खरिद गरिएको हो । कोभिडको कारण आर्थिक अवस्था बिषम भए ता पनि श्रध्दालु भक्तजनहरुले पवित्र मनले भवन खरिद तथा मर्मत सम्भारको लागि चार लाख पाउण्ड उठाएको कुरा महासचिब गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो । लण्डन साउथ इष्ट क्षेत्रको केन्द्र वुलविचमा अवस्थित उक्त भवनलाई (गुम्बालाई) मर्मत सम्भार गरी चाडै नै सम्पूर्ण ब्यवस्था मिलाइने कुरा महासचिब योगेशले खबर यूकेलाई जानकारी गराउनुभयो । साथै गुम्बाको लागि आवश्यक मुर्तीहरु अन्य सामाग्रीको लागि प्रायोजकहरु पाइसकेको कुरा पनि अवगत गराउनुभयो । भवनको (गुम्बाको) हिजो अगष्ट २७ तारिख बुद्ध भगवानका जन्म बार शुक्रबारको दिन पारेर बिहान नौ बजे जुम मार्फत पुज्यनीय मूल गुरु थुक्तेन खेम्पो शिरलम गुरुङले पोखरा बौध आर्घु सदन रामघाट देखि पबित्र अष्ठ मंगल वाचन तथा आशिर्वाद प्रदान गरि संस्थाका अध्यक्ष सुमल कुमार गुरुङको बाहुलीबाट गुम्बाको मूल द्वार (ढोका) खोलि पन्च कन्याहरुको शुभ साईत गरेर उध्दघाटन गरियो ।

बेलायतमा नेपालीहरुको यो दोस्रो गुम्बा हो र गुम्बा निर्माणको श्रेय सम्पूर्ण श्राध्दालु भक्तजनहरु जान्छ । डाइमण्ड बुध्दिष्ट सेन्टरमा ४५१ जना आजीवन सदस्यहरु र १४१ ट्रस्टीहरु रहेको छन् । भवन खारिदको लागि स्थापना कालदेखि हालको कार्यसमितिले निरन्तर प्रयास गरेको थियो । गुम्बा निर्माण कार्यलाई सफल पार्न घर दैलो कार्यक्रम गरेको थियो र त्यसबाट सेन्टरलाई धेरै टेवा पनि मिलेको थियो । घरदैलो कार्यक्रमको संयोजक उपाध्यक्ष श्रीमती मिना गुरुङ, सह-सयोजक श्रीमती चन्द्र देबि गुरुङ तथा एरिया प्रतिनिधि आमाहरुको ठूलो भुमिका रहेको छ ।

उध्दघाटन कार्यक्रममा सेन्टरको आमा प्रमुख उपाध्यक्ष श्रीमती मिना गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले कार्यसमिति, पदाधिकारी र सम्पूर्ण भक्तजनहरुलाई बधाई तथा शुभकामना ब्याक्त्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष सुमल कुमार गुरुङ हर्ष बिभोर हुनुभइ उपस्थिति अतिथिहरु, चन्दा दाताहरु र संघ सस्थाका प्रतिनिधिहरुलाई आर्थिक अनि नैतिक सहयोगको लागि आभर ब्याक्त गर्नुभयो । त्यस्तै अधक्ष्य गुरुङले पन्च कन्याहरु- सुश्री तिसा प्रजापती, सृसा प्रजापती, कृशा गुरुङ, परि गुरुङ र टृजा गौचनलाई अध्यक्ष सुमल कुमार गुरुङले दाक्षिण र आमा प्रमुखले खादा ओडाई आशिर्वाद दिनु भएको थियो । उपस्थित सम्पूर्ण संघ संस्थाको अध्यक्षहरु, प्रतिनिधिहरु, बिशिष्ठ समाज सेवीहरु र बौद्ध अनुयायीहरुले दिप प्रजलन गर्नु भएको थियो । कार्यक्रम संस्थाको महासचिव योगेश गुरुङ र सचिव हेम छन्त्यालले संचालन गरेको थियो ।

गुम्बा (भवन) खरिदको लागि प्रारम्भदेखि आजसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिशुद्द भावनाले न्यानो सहयोग, पबित्र मार्गदर्शन तथा मिठो आशीर्वादका सुन्दर उपहार प्रदान गर्नु हुने सम्पुर्ण प्रेम र करुणाले भरिएका मनहरुप्रति सेन्टर तथा महासचिब योगेश गुरुङले खबर यूके मार्फत पुन: हार्दिक नमन तथा कृतज्ञता ब्यक्त गर्नुभयो ।