अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने देउवा र पौडेलबीच सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रको विवाद समाधान गर्ने सहमति जुटेको छ। सभापति देउवा र नेता पौडेलबीच भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने सहमति जुटेको हो । दुई नेताबीचको छलफलपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूले राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताए ।

देउवासँग भएको कुराकानीबारे जानकारी गराउन पौडेल पक्षले शनिबार आफू निकटका नेता र जिल्ला सभापतिहरूसँग सिंह निवास चाक्सिबारीमा छलफल गरेका थिए। देशभरका छ हजार ७४३ वडामै एकै दिन अधिवेशन गर्ने समझदारी भएको सिहंले बैठकपछि जानकारी दिए। जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने विषयमा पनि समझदारी बनेको उनको भनाइ छ।

जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ । एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको बताए । साथै नेता सिहंले अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रीय रहन आग्रह गरे ।