देउवा र दाहालबीच सरकारलाई छिट्टै पूर्णता दिनेबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो ।

भेटमा सरकारलाई छिट्टै पुर्णता दिनेबारे छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । उनीहरूबीच अब संयुक्त गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी छ । प्रचण्डपुत्री तथा स्वकीय सचिव गङ्गा दाहालले भनेकी छन्, ‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ, भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ ।’

गठबन्धन सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। खासगरी आफूलाई विश्वासको मत दिने तत्कालीन एमालेको माधव नेपाल पक्षलाई उनले पर्खेका हुन् । नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गरेसँगै अब मन्त्रिपरिषदलाई पूर्णता दिने प्रक्रिया अघि बढेको हो। नेपालको दल पनि सरकारमा सहभागी हुने बताइएको छ ।