रोनाल्डोको आगमनसँगै म्यानचेस्टर युनाईटेडको प्रिमियर लिग जित्ने आशा

एजेन्सी । धेरै अनुमानविपरित क्रिष्टियानो रोनाल्डो अन्ततः म्यानचेस्टर युनाईटेडमा आबद्ध भएका छन् । शुक्रबार राती म्यानचेस्टर सिटीसँगको आबद्धता प्रयास असफल भएपछि रोनाल्डो र म्यानचेस्टर युनाईटेडबीच सम्झौता भएको हो ।

स्पेनिस महारथी रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टस छाडेर आफ्नो पुरानै प्रिमियर क्लब रोजेका हुन् । युभेन्टसमा च्याम्पियन्स लिग जित्न नसकेपछि रोनाल्डो निराश रहेको समाचार आएका थिए । त्यसमाथि उनले गतिलो प्रशिक्षक नपाउँदा पनि च्याम्पियन्स लिग जित्न नसकेको अड्कलबाजी थियो । गएको सिजन सिरी ए उपाधि समेत रक्षा गर्न नसकेपछि रोनाल्डोले विकल्प खोजिरहेका थिए । सुरुमा उनी फ्रेन्च क्लब पीएसजी जाने हल्ला समेत चलेको थियो । तर पीएसजीले फ्री ट्रान्सफरमा बार्सिलोनाका सर्वकालिन खेलाडीका लियोनल मेस्सीलाई आबद्ध गराउन सफल भयो । नेयमारको प्रयासमा पीएसजीले मेस्सीलाई भित्र्याएपछि रोनाल्डोको नयाँ गन्तव्य अनिश्चित बनेको थियो ।

यसबीचमा सर्जियो अग्वेरोले समेत क्लब छाडेपछि उनको विकल्पमा सिटीले केनको असफलतामा रोनाल्डोसँग कुरा अगाडि बढाएको थियो । तर प्रशिक्षक पेप ग्वार्डिओलाले रोनाल्डोप्रति उत्साह नजनाउँदा उनको रोजाई पुरानै क्लब म्यानचेस्टर युनाईटेड भएको हो ।

सन् २०१२/१३ मा एलेक्स फर्गुसनले प्रिमियर लिग जिताएर बिदा भएपछि युनाईटेड लिग उपाधिविहीन छ । गएको सिजन दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाईटेडले यसपटक रोनाल्डो भित्र्याएपछि लिग जित्ने अनुमान धेरैको छ ।

रोनाल्डो तिनै खेलाडी हुन्, जसले म्यानचेस्टर युनाईटेडमा तीनपटक लगातार प्रिमियर लिग जित्दै च्याम्पियन्स लिग ट्रफीका साथमा बेलुन डेर अवार्ड जितेका थिए । रोनाल्डो ला लिगा क्लब प्रवेश गरेपछि प्रशिक्षक एलेक्स फर्गुसनले एकपटक उपाधि जिताए । रोनाल्डो र फर्गुसनविना उपाधि जित्न नसकेको म्यानचेस्टर युनाईटेडलाई असम्भव जस्तै रह्यो । अब रोनाल्डो फेरि प्रिमियर लिग क्लब फर्केपछि सोल्सायरको नेतृत्वमा म्यानचेस्टर युनाईटेडले उपाधि जित्ला ? यो सिजनको अन्त्यसम्म प्रिमियर लिग हेर्नैपर्नेछ ।