माधव नेपालसँग चन्द्रागिरीमा एमालेका कति सांसद छन ?

काठमाण्डौ । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीपार्टीका नेताहरु अहिले चन्द्रागिरी रिसोर्टमा रहेका छन् । स्रोतका अनुसार त्यहाँ संघीय संसदका ३१ जना सांसदहरु सहभागी रहेका छन् । राष्ट्रियसभाका ८ र प्रतिनिधिसभाका २३ जना समेत गरी ३१ सांसद सहभागी रहेको नेपाल निकट एक नेताले बताए । अहिले एमाले औपचारिक विभाजनको अन्तिम विन्दुमा रहेको छ । नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । भदौ ९ गते आयोगले सनाखतका लागि बोलाएको छ । एमाले विभाजनका लागि नेपाललाई सांसद वा केन्द्रीय सदस्यको २० प्रतिशत समर्थन आवश्यक पर्छ । आफ्नो साथमा रहेका केही नेताहरुले साथ छाडेपनि नेपाल अहिले सेफ जोनमा रहेका छन् । निर्वाचन आयोगले पुरानै कमिटीलाई मान्यता दिने निर्णय गरेपछि नेपाललाई सहज भएको हो । नेपाल समूहले आफूसँग सयभन्दा बढी सदस्य रहेको दावी गर्दै आएका छन् ।

यता, एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा नेपाल समूह छाडेर तेस्रो धारमा रहेका नेताहरु पनि सहभागी हुने बताइएको छ ।

ज्ञवालीकाे दौडधुप

एमाले सांसद माया ज्ञवालीले आफ्नो दौडधुप बढाएकी छन् । उनले एक हप्तामा तीनपटक गुट परिवर्तन गरेकी छन् । अघिल्लो साता माधव नेपाल पक्षको अर्याल होटलका बैठकमा भाग लिएकी ज्ञवाली सोही दिन संस्थापन पक्षको संसदीय दलको बैठकमा पुगेकी थिइन्।

ज्ञवाली अहिले चन्द्रागिरी रिसोर्टमा जारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को बैठकमा सहभागी भएकी छन् । उनी सोमबार साँझदेखि नै त्यहाँ रहेको नेताहरुले बताएका छन् ।

यसअघि पनि तत्कालिन समयमा नेकपा विभाजनको बेला पनि कहिले केपी ओली पक्ष र कहिले प्रचण्ड—माधव पक्षमा ओहोरदोहोर गरिरहेकी थिइन् ।

उनी समानुपातिक सांसद हुन् ।