कुलमान नियुक्ति विरुद्धको रिट प्रधानन्यायाधीश राणाको इजलासमा
काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय विरुद्धको रिटमाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा हुने भएको छ ।
यसअघि भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो । शाक्य आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै अदालत पुगेका हुन् ।
शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्त गर्नु गैरकानुनी भएको उनको जिकिर छ ।
शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन् ।
साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदवहाली गरेका थिए ।