बिभिन्न निर्णयसहित एनआरएनए यूके दशौं कार्यसमितिको पहिलो बैठकमा सम्पन्न

अल्डरसट, ह्याम्पसायर । हिजो मिती १६ अगष्ट २०२१ सोमबार अल्डरसट स्थित द प्यालेसमा एनआरएनए यूके दशौं कार्यसमितिको पहिलो बैठकमा सम्पन्न भएको छ । नवनिर्बाचित अधक्ष्य प्रेम गाहा मगरको अधक्ष्यमा बसेको बैठकले थुप्रै निर्णयहरु गरेका छन । दशौं कार्यसमितिको पहिलो बैठकले भरतमणि चोङवाङलाई एनआरएनए यूकेको प्रवक्तामा नियुक्त गरेको छ । त्यस्तै बैठकले श्याम लुइंटेल र आवेश राईलाई को-अप सदस्यमा मनोनित गरेका छन भने बांकी एक को-अप सदस्य अर्को बैठकले मनोनित गर्ने भनिएको छ ।

त्यस्तै गत हप्ता सपथ ग्रहण कार्यक्रममा घोषणा गरे अनुरुप बैठकले शेरबहादुर सुनारलाई संस्थाको प्रमुख संरक्षकमा आधिकारिक रुपमा नियुक्त गरेको छ । साथै बैठकमा ३३ सदस्यीय कार्यसमितिभन्दा सानो हुने गरी २५ देखि ३१ को बीचमा सल्लाहकारहरुको मनोनयन गर्ने सहमती भएको छ र सल्लाहकारहरु अर्को बैठकमा मनोनयन गर्ने निर्णय गरेको छ ।

एनआरएनए यूकेको अहिले कुनै स्थायी कार्यालय नभएकोले हाल प्रयोग गर्दै आइरहेको अल्डरसट स्थित अफिस नै उपयोग गर्ने र यसको लागि कार्यसमितिका हरेक पदाधिकारी र सदस्यबाट मासिक २० पाउन्ड ‘डाइरेक्ट डेबिट’ लिने निर्णय गरेको छ ।

बैठकले एक दर्जन बढी विभाग गठन र जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार गोर्खा र खेलकुद विभागको जिम्मा अध्यक्ष गाहामगरले नै लिएका छन् भने यस गोर्खा विभागमा चम्पा थापा र भरतमणि चोङवाङलाई पनि सदस्य राखिएको छ । उपाध्यक्षहरुमध्ये सुनिलबाबु खड्का संघसंस्था समन्वय, गोविन्द खरेल च्यारिटी, नारायण कंडेल कानूनी परामर्श तथा अनुसन्धान र भाषा, मोहन कार्की नागरिकता निरन्तरता, रामचन्द्र पोखरेल सदस्यता र सकुन्तला गुरुङ कला, संस्कृति विभागको संयोजक तोकिएका छन् ।

त्यस्तै, महासचिव खुशी लिम्बू एक एनसिसी एक च्यारिटी, सचिव ज्ञानेन्द्र आले व्यापार प्रवर्द्धन्, सचिव विष्णु चालिसे र सदस्य भानु घिमिरे नेपाली खाना प्रवर्द्धन्, कोषाध्यक्ष विष्णु खरेल आर्थिक, युवा संयोजक अनिल मल्ल युवा र महिला संयोजक विमला लिम्बू महिला विभागको संयोजक बनेका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरुबाट सपना खनियाले धर्म, बालकृष्ण दाहाल र सुमन शर्माले दैवीप्रकोप तथा आपतकालीन, सुरेश परियारले कला, आवेश राईले अनलाइन सदस्यता व्यवस्थापन, चेत रानाले युवा र श्याम लुइंटेलले संघसंस्था समन्वय विभाग सदस्यको जिम्मेवारी पाएका छन् ।त्यस्तै, प्रवक्ता भरतमणि चोङवाङलाई मिडिया तथा प्रकाशन विभागको संयोजक तोकिएको छ ।

विभागहरुमा आवश्यकताअनुसार सदस्यहरु थप गरिने जनाइएको छ । बैठकले निवर्तमान कार्यसमितिबाट कार्यभार लिने काम आगामी सेप्टेम्बर ६ भित्र पूरा गर्ने निर्णय गरेको छ । नियमित प्रचलन अनुसार बैठक महासचिव खुशी लिम्बूले सन्चालन गरेका थिए र बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारीको सहभागिता थियो ।