नेपाल सरकारद्वारा भूतपूर्व गोरखा सैनिकलाई अनसन फिर्ता लिन आह्वान
काठमाडौँ । मन्त्री परिषदको आज सोमबार बसेको बैठकले बेलायतमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसन लगायत अन्य विरोध कार्यक्रमप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको र सबै बिरोध कार्यक्रमहरु फिर्ता लिन आह्वान गरेको कुरा सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उहाँले ‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया अघि बढिसकेकाले आमरण अनशन लगायत फिर्ता लिनका लागि भूतपूर्व गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गर्ने निर्णय भयो,’ कार्कीले भने ।
समान पेन्सनसहित अन्य सुबिधाहरु बेलायत समकक्षी सरह हुनुपर्छ भनी गोरखा सत्यग्रह संघर्ष समितीले प्रधानमन्त्री कार्यालय नजिक डाउनी स्ट्रीटमा सुरुमा रिले अनसन र अहिले अमरण अनसन शुरु गरेको छ । अमरण अनसन शुरु गरेको आज १०औ दिन पुगेको छ । अस्ति अगष्ट १४ तारिख शनिबार र हिजो अगष्ट १५ तारिख आइतबार सप्ताहन्त पारेर बेलायत स्थित बिभिन्न ब्रिटिश गोरखा भुतपुर्ब सैनिक संघहरु, नेपाली संघसंस्थाहरु र नेपाली नागरिकहरुले गोरखाहरुको अनसन र मागप्रति समर्थन र एक्यबध्दता जनाउदै सेन्ट्रल लण्डनमा ब्रिहत प्रदर्शन गरेका थिए ।
गोरखाहरुको मागलाई लिएर प्रधानमन्त्री बोरीस जोन्सनलाई ठुलो दबाब रहेको कुरा बुझिएको छ । बिपक्षी लेबर पार्टीले गोरखाहरुको मागलाई समर्थन गर्दै गोरखाहरुको माग पुरा गर्न लेबर पार्टीको सांसदले पत्र नै लेखेको छ ।