नेपाली मेलाको तयारीका लागि तमु धिं यूके र नेपाली राजदुताबासबिच छलफल

लण्डन । अगष्ट महिनाको बैंक होलिडेको सप्ताहन्त पारेर तमु धिं यूकेले हरेक बर्ष आयोजना गर्ने बेलायतबासी नेपालीहरुको सबैभन्दा ठुलो मेला “१२औ नेपाली मेला- २०२१” को तयारी सम्बन्धमा नेपाली राजदुताबास र तमु धिं यूकेबिच छलफल सम्पन्न भएको छ । १२औ नेपाली मेला- २०२१ को प्रमुख संयोजक तमु धिं यूकेको बरिष्ठ उपाधक्ष्य हरी गुरुङको अनुसार अधक्ष्य हितकाजी गुरुङको नेत्रित्वमा तमु धिं यूकेको अन्य पदाधिकारीहरुसहित लण्डन केन्सिङटन स्थित नेपाली राजदुताबासमा राजदुत लोक दर्शन रेग्मीसँग भेटघाट गरी बिस्त्रित छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उक्त भेटघाट कार्यक्रममा तमु धिं यूकेको तर्फबाट मेलाको प्रमुख संयोजक बरिष्ठ उपाधक्ष्य हरी गुरुङले राजदूतसहित दूतावासका सबै कूटनीतिक कर्मचारी बेलायतमा नयाँ भएका कारण उहाँहरुलाई कार्यक्रमबारे सक्दो बढी जानकारी गराउने उद्धेश्यले नेपाली मेलाको छोटो श्रब्यद्रिश्य (क्लिप) र पावर प्वाइन्ट प्रस्तुत गर्नुभई मेलाबारे राजदुत र उपस्थित अन्य कर्मचारीहरुलाई जानकारी गराउनुभएको थियो । साथै उपाधक्ष्य गुरुङले नेपाली मेलाको अवधारणा, उध्देश्य, बजेट र सन्चालनबारे राजदुतलाई अबगत गराउनुभयो ।

फोटो सौजन्य- मिलन तमु, गोरखा मिडीया

छलफलमा राजदुत रेग्मीले नेपाली मेलाको लागि दूतावासको पूर्ण सहयोग रहने र दूतावासका तर्फबाट विगतमा झै आबश्यक सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो । राजदूत रेग्मीले मेलामा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल लगायतको प्रदर्शनी गराउन सुझाव दिनुभयो ।

दूतावास समेतको सहकार्य र समन्वयमा वर्षेनी आयोजना हुँदै आएको नेपाली मेलामा उत्कृष्ट प्रस्तुति गर्ने नेपाली संस्थालाई २५ सय पाउन्ड नगदसहितको ‘एम्बासडर कप’ दूतावासले प्रायोजन गर्दै आएको छ । मेलाका लागि बेलायतस्थित दक्षिण एशियाली मुलुकका राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरुलाई दूतावासले निमन्त्रणा पठाउने भएको छ । त्यस्तै, बेलायतका सम्पूर्ण नेपाली संघसंस्थालाई पनि मेलामा सहभागिताका लागि दूतावासले आव्हान गर्ने भएको छ ।

छलफलका क्रममा तमु धिं यूके अध्यक्ष हित काजी गुरुङले नेपाली मेला आयोजनामा लन्डन दूतावासले खेल्दै आएको भूमिकाप्रती आभर प्रकट गर्नुहुँदै नेपाली मेला तमुधिं यूकेको मात्र नभइ बेलायतका सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम भएकोले सबैले सक्दो सहयोग र सहभागी हुन अनुरोध गर्नुभयो । साथै अधक्ष्य गुरुङले दूतावास र राजदूत रेग्मीबाट प्राप्त सुझावहरुलाई मनन गर्दै कार्यक्रमको तयारी अघि बढाइने उनले बताए ।

फोटो सौजन्य- मिलन तमु, गोरखा मिडीया

दूतावाससंगको छलफलमा तमुधिं यूकेको तर्फबाट अध्यक्ष गुरुङसंगै कार्यक्रम संयोजक एवम् उपाध्यक्ष हरि गुरुङ, उपाध्यक्षहरु जुमकाजी गुरुङ र तुलाराम गुरुङ, कोषाध्यक्ष कमल कोने गुरुङ, पूर्व उपाध्यक्ष मेजर बुद्धि गुरुङ लगायतका पदाधिकारी सहभागी थिए ।

गत वर्ष महामारीका कारण रोकिएको मेलालाई यसपटक पनि विगतमा जस्तै व्यापक र भव्य बनाउने तयारीमा तमु धिं यूके जुटिरहेको छ । बिगतका मेलाहरुमा जस्तै यस पटक पनि मेलामा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका मौलिक एवम् सांस्कृतिक झांकीहरुको प्रस्तुति गर्नेछन । मेलास्थलमा राखिने नेपाली खाना, व्यवसाय तथा च्यारिटीका स्टलहरु अनि युवाहरुको सांगीतिक प्रस्तुति पनि रहनेछन् ।

१२औ नेपाली मेला- २०२१ यही अगष्ट २९ तारिख आइतबार पहिलाकै स्थान लन्डनको केम्पटन पार्क रेसकोर्समा हुनेछ ।