साताको १० लाख पाउ‍ण्ड तलबमा पीएसजीसँग मेस्सीको सम्झौता

एजेन्सी । विश्व फुटबलमा सुपर स्टार फुटबल खेलाडी लियोनल मेस्सी यो सिजनमा नयाँ क्लब र नयाँ जर्सीमा देखिने भएका छन । दुई दशकसम्म बार्सिलोनाको जर्सीमा देख्नेका लागि मेस्सीले अब लगाउने जर्सी केहि नयाँ लाग्छ सक्छ । तर अबको दुई देखि तीन बर्षसम्म सबै मेस्सी र बार्सिलोनाका समर्थकले यसलाई बानी बसाल्नुपर्ने भएको छ । ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनामा नै सम्झौता गर्न तयार भएको अवस्थामा पनि छोड्नुपर्ने भएपछि मेस्सी मंगलबार बार्सिलोना छोडेर पेरिस लागे । बार्सिलोना जाँदा किशोर अवस्थामा रहेका मेस्सीले त्यहाँबाट पेरीस पुग्दा श्रीमती र तीन छोरासँग गए ।

आफ्नो अमुल्य समय बार्सिलोनामा विताएर करियरमा जित्नुपर्ने सबै प्रतियोगिता सो क्लवको जर्सीमा जितेका मेस्सीको अबको गन्तब्य निकै नयाँ तर आफुले चिनेका साथीहरुसँग हुने भएको छ । मेस्सी पीएसजीमा आउने भएपछि हजारौं दर्शक उनको एक झलक पाउनका लागि जम्मा भएका थिए । उनी पेरीस पुग्ने बेला पीएसजीले आफ्नो आधिकारिक ट्विटरमा उनको एक टिजरपनि सार्वजनिक गरेको थियो । जसमा मेस्सीले जितेका ६ वटा बलुन डी योरका अवार्ड आइफिल टावरको अवाडी राखिएको देखिएको थियो । यतिमात्र होइन, पीएसजीको खेलाडी रुममा पनि मेस्सीको स्थान नेयमार र एम्बाप्पेको विचमा राखिएको छ ।

विश्वको शक्तिसाली आक्रमण बनाएको पीएसजीले मेस्सीलाई भित्र्याएसँगै सबै भन्दा बढि रकम खेलाडीको तलवमा खर्च गर्ने क्लव बनेको छ । मेस्सीका वकिलले उनको सम्झौताको पत्र आइतबारबाट नै तयार गर्न सुरु गरेका थिए । तर मेस्सीले मंगलबार विहानमात्र सहमति दिएका थिए । अन्तिममा इमेज राइट्स र उनले पाउने तलव र बोनसको ब्रेक डाउनमा कुरा मिलेपछि मेस्सीले सहमति जनाएका हुन । मेस्सीको बार्षिक तलव ६३ मिलियन युरो हुनेछ । यसमा उनको चोखो तलव, इमेज राइट्स, बोनस रहेको छ । उनले एक साताको १० लाख पाउण्ड तलब पाउनेछन । उनी फ्रान्समा धेरै ट्याक्स तिर्ने खेलाडी बन्ने भएका छन । उनले तलवको ४५ प्रतिशत ट्याक्स तिर्नेछन र हातमा साताको ५ लाख ५० हजार पाउण्ड तलव पाउनेछन ।

मेस्सी पेरिसमा उत्रिएपछि बाहिर निस्किँदा कडा सुरक्षा दिइएको थियो । मेस्सीका पिता जोर्ज उनी भन्दा अगाडी पेरिस पुगेका थिए । उनले नै पीएसजीसँगको सम्झौता भएको स्विकारेका थिए । सोहि बेला बार्सिलोना छोड्नुको दोष कसको भन्दा उनले जवाफ क्लवलाई सोध्नु भन्ने थियो । अब पीएसजीमा गएपछि अब एमएनए ट्रायोले तहल्का पिट्ने पक्का छ ।

हाल क्लव फुटबलमा उत्कृष्ट खेलाडीको सूचीमा पर्ने नेयमार, एम्बाप्पेसँग अब मेस्सीपनि मिसिएपछि विश्वका सबैको ध्यान पीएसजीले तानेको छ ।