प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विवाद मिल्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’मा पछिल्लो समय पेचिलो बन्दै गएको विषय हो प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको विवाद । वरिष्ठ उपाध्यक्षले आफूलाई दु:ख दिएको कारण आफूले राजीनामा दिने प्रशिक्षकले सामाजिक सञ्जालमा पोस्ट गरेपछि एन्फामा माहोल तातेको थियो। लगत्तै नेम्बाङले छानविनको माग गर्दै एन्फामा निवेदन दिए भने प्रशिक्षक अलमुताइरीले पनि छानविनको माग गर्दै निवेदन दिए ।

त्यसपछि एन्फा कार्यसमितिको आकस्मिक बैठक बस्यो । जसमा मुख्य दुई एजेण्डा मध्येको एक थियो राजीनामा प्रकरण ।

कार्यसमितिमा पनि ‘टेम्पो’ दुवैतर्फको बढी भएपछि सहमतिको वातावरण बनेन र कार्यसमितिले यसको छानविनको लागि युवा तथा खेलकुद मन्त्रालयलाई गुहार्‍यो । तर, यसले विवादमा थप नकारात्मकता बढायो। मन्त्रालय गुहार्ने निर्णयमा असहमति जनाउँदै एन्फाका सहायक महासचिव वसन्त अर्याल देखि प्रवक्ता किरण राई सम्मले राजीनामा दिए । धेरैजसो पदाधिकारीको अडान देखिन थाल्यो : एन्फाको विधान र संरचना हुँदाहुँदै मन्त्रालय गुहारेर गलत कदम लिइयो ।

यता मन्त्रालयले पनि यो प्रकरणको अध्ययनको जिम्मा राष्ट्रिय खेलकुद परिषदलाई दियो। र, त्यहाँ छानविनको समिति पनि बन्यो । तर, छानविन अघि बढ्न भने सकेको छैन । भोलिबाट यस विषयमा छानविन प्रक्रिय अघि बढ्ने छानविन समितिका संयोजक पुरेन्द्र विक्रम लाखेले बताए ।

समितिको केही कुरा अघि नआउँदै नाटकीय रुपमा वरिष्ठ उपाध्यक्ष नेम्बाङ र प्रशिक्षक अलमुताइरीबिच सहमतिको वातावरण बनेको छ । शुक्रवार कतारका राजदुत निकट नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारको सहजिकरणमा दुईजनाबिच भेट सम्पन्न भयो। कतारका राजदुतको सक्रियताको कारण नै कतारकै सहयोगमा अलमुताइरी नेपालमा प्रशिक्षणरत छन् ।

‘उहाँ (अलमुताइरी)को कुरा मैले सुनेको थिइन। अस्ति एन्फामा कुरा हुनै पाएन । उनको कुरा सुनियो। पत्रकारहरुको स्टाटसमा लाइक गर्‍यो भनेर उहाँको मन दुखेको रहेछ। त्यतिमा त्यत्रो लेख्दा हाँसो पनि उठ्यो,’ वरिष्ठ उपाध्यक्ष नेम्बाङले पहिलोपोष्टसँग भने, ‘जे भए पनि नेपाली फुटबलमा कर्माजी पछिको अभिभावक त म पनि हो नि । त्यसैले पनि उहाँले जस्तो कार्य गरेको भए पनि उनको कुरा बुझ्ने कोसिस गरेँ । कुरा सुने । अनि एउटा समझदारी गरेर नेपाली फुटबललाई आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । टिमलाई बलियो बनाउनु पर्छ भन्ने कुराहरु भएको छ। त्यति भएको हो ।’

नेम्बाङले आफूलाई प्रशिक्षकले जानीजानी वा अन्जानमा आक्षेपहरु लगाएपनि त्यो प्रमाणित गर्न सक्ने अवस्था नभएको बताउँछन् । प्रशिक्षकको व्यवहारलाई ‘नादानी’ सम्झेर बिर्सिने प्रयास गरेको उनी बताउँछन् । यो विवाद सुल्झाउन एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले धेरै सक्रियता नदेखाएपछि आफैँ अघि सर्नुपरेको नेम्बाङ बताउँछन् ।

‘मैले अध्यक्षलाई धेरै पटक भनें तर उहाँले कुनै इनिसिएसन् लिनु भएन। त्यसका कारण मैले त लिखित दिनुपर्‍यो । छानविनको माग गरेँ। त्यसबिचमा अध्यक्ष पोखरा बस्नुभयो, आउनुभएन । मैले महासचिव र प्रवक्तासँग पनि कुरा गरें । वातावरण बनाउन लाग्नुहोस भनेको थिएँ,’ नेम्बाङ भन्छन्, ‘कतारका महामहिमका साथीले पहिला पनि कुरा गर्नुभएको थियो । तर म संस्थागत जान्छु भनेर संस्थागत गएको थिएँ । तर अब अस्तिको निर्णय चाहीँ एन्फाको विधान, फिफाको मर्मविपरित भयो । सहमति भन्नाले एकचरण सकारात्मक छलफल भएको हो। अरु कसैले इनिसिएसन नलिँदा उसको अभिभावक त म पनि हो नि भनेर आफैँ अघि बढेको हो ।’

प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबिचको भेटपछि एकातर्फ विवाद मिल्ने अवस्था देखिएको छ भने अर्कोतर्फ छानविनको प्रक्रिया अघि बढेको छ। यस्तोमा दुवैतिर मिलाएर जानुपर्ने नेम्बाङको बुझाइ छ । ‘अब के हुन्छ त्यता पट्टी पनि मिलाउने प्रयास गर्नुपर्छ । यता मिल्दाखेरी,’ उनी भन्छन्, ‘किनभने यो नेपाली फूटबलको विषय हो। यो हामीले नै सोच्नु पर्छ हामीले नसोचे अरु कसले सोच्छ भन्ने हो ।’

यो सहमतिको पछाडी महत्वपूर्ण भूमिका खेलेका थिए नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले । नेपाली फुटबल टिमबाट खेलिसकेका उनले कतारी राजदुतसँग पनि राम्रो सम्बन्ध भएका कारण दुई पक्षलाई नै एकै स्थानमा ल्याएर सहमति गराउन सफल भएका थिए । यसक्रममा यो प्रकरण धेरै अघि बढ्नुको पछाडी कारण हो : प्रत्यक्ष कुराकानीको अभाव ।

‘प्रशिक्षक र वरिष्ठ उपाध्यक्षलाई बोलाएर दुवैजनालाई एक ठाउँमा राखेर कुरा गरे यो टुंगिन्छ भन्ने लागेको थियो,’ उनले भने। त्यसमा सुरुमा नेम्बाङ त गएनन् तर प्रशिक्षक गए र आफ्ना कुरा राखे। त्यतिबेलै सकिने कुरा थियो । ‘सानो कुरामा धेरै कम्पिक्लेसन बन्दै गएको देखियो। अस्ति फेरि दुवै पक्ष भेट्न तयार छ भन्ने कुरा आयो र मैले दुवै पक्षलाई भेटाइदिएँ,’ उनी भन्छन्, ‘उहाँहरु आफूआफू भेटेको रहेनछ। पहिलो पटक केही दिनअघि भेटेको। बसेर राम्ररी कुरा गर्‍यौ । कुरा खास केही रहेनछ। सामान्य लेखेका र लाइक गरेको विषयमा विवाद रहेछ ।’

राजकर्णिकारका अनुसार त्यहीँबाट सहमतिको वातावरण बनेको बताए। अब सबैकुरा सामान्य रहे दुवै पक्षले संयुक्त विज्ञप्ति निकालेपछि विवाद समाधान हुने देखिएको छ ।