पारस खड्काको सन्यास र क्रिकेटसँग उनकाे साइनाे

काठमाडाैँ । सन् २०१९ काे अक्टुबर १५ मा नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे कप्तानबाट पारस खड्काले दिएकाे राजीनामा जति अप्रत्यासित थियाे ठीक त्यसैगरि उनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे निर्णय सार्वजनिक गरेका छन् । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कुराकाे कुनै छनक कसैलाई दिएका थिएनन् मंगलबार बिहानसम्म। उनले कप्तानबाट राजीनामा दिएकाे निर्णय पनि त्रिवि क्रिकेट मैदानबाट ट्विट गरेर सार्वजनिक गरेका थिए कसैलाई थाहा नदिएरै ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पारसले सन्यास लिएकाे घाेषणा र उनले क्रिकेट टाेलीका सदस्यहरुलाई सन्यासकाे जानकारीसहित माेबाइलमा धन्यवाद दिएकाे सन्देश लगभग सँगसँगै प्रवाह भएकाे थियाे । एक सफल कप्तानका रुपमा रहेका पारसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएका छन्। तर सन्यास लिँदा कुनै तडक भडक नगरि आजकाे दिन राेज्नुकाे कारणबारे समर्थकहरुमा काैतुहलता बढेकाे छ ।

के आजकै दिन पारसले सन्यास घाेषणा गर्नुसँग नेपाली क्रिकेटकाे कुनै साइनाे छ? अवश्य छ ।

पारसकाे नेतृत्वमा नेपालले एक दिवसीय (ओडिआई) मान्यता पाएकाे थियाे । त्यसपछि सन २०१८ अगष्ट ३ तारिख अर्थात आजकै दिन नेपालले पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय जित हाँसिल गरेकाे थियाे । त्यही दिनलाई अवसर पारेर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्, तर सन्यास घाेषणा वक्तव्यमा यसबारे पनि पारस बाेलेका छैनन् ।

नेदरल्याण्ड्ससँग दुई खेलकाे एक दिवसीयमा पहिलाे खेल हारेकाे नेपाल दाेस्राे खेलमा आजकै दिन एक रनले विजयी भएकाे थियाे। उक्त खेलमा पारस म्यान अफ दि म्याच भएका थिए। पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सविरुद्ध पारसले ६ ओभरमा २४ रन खर्चेर एक विकेट लिँदै अर्धशतक (५१ रन) हिर्काएका थिए ।

ब्याटिङमा मात्रै हैन बलिङ र फिल्डिङमा पनि पारसकाे प्रदर्शन निर्णायक थियाे । नेपालले दिएकाे २१७ रनकाे लक्ष्य पछ्याएकाे नेदरल्याण्डसलाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियाे। उसले ९ विकेट गुमाइसकेकाे थियाे । कप्तान पारसले अन्तिम ओभरमा आफै बलिङ गरेर मात्र ४ रन दिए। अन्तिम बलमा २ रन आवश्यक रहेका बेला नेदरल्याण्ड्सका खेलाडीलाई पारसले रनआउट गर्दै नेपालकाे नाममा ऐतिहासिक जित दर्ता गरेका थिए ।

साेही दिनकाे अवसर पारि सन्यासकाे घाेषणा गरेका पारस वन डे र टि–ट्वान्टी अन्तर्राष्ट्रिय किक्रेटमा शतक हिर्काउने नेपालका एक मात्र खेलाडी हुन् । २००२ मा उमेरस्तरकाे राष्ट्रिय टाेलीमा रहेका पारस २००४ बाट राष्ट्रिय टाेलीमा रहेका थिए । उनी सन २००९ मा राष्ट्रिय टाेलीकाे कप्तान बनेका थिए । लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले मंगलबार वक्तव्य जारी गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। खड्काले नेपालका लागि खेल्नुलाई आफ्नाे जीवनको सर्वश्रेष्ठ उपलब्धी भनेका छन् ।

‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति सदैव ऋणी रहनेछु’, पारसले भनेका छन्, ‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नती हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौँ ।’

अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा पूरा भए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको खड्काले उल्लेख गरेका छन् । मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रुपमा आफूसँग रहने बताउँदै पारसले अघि भनेका छन्, ‘हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु ।