अनलाइनमा पनि लाइनमा बस्दै यूकेका एनआरएनए सदस्यहरु, अनलाइन भोटिङ जारी

लण्डन । एनआरएनए यूकेको आगामी २०२१-२३ कार्यसमितिको लागि अहिले अनलाइन भोटिङ जारी छ । अघि दिउसो मध्य १२ बजेबाट शुरु भएको अनलाइन भोटिङमा सर्भर ब्यस्त भएका कारण प्राय सदस्यहरुले भौतिक रुपमा मतदान गरेजस्तै अनलाइनमा पनि लाइन बस्दै (पालो कुर्दै) उत्साहजनक रुपमा प्रथमपटक अनलाइनबाट भोटिङ गर्दै हुनुहुन्छ । भोली अगष्ट ३ तारिख १२ बजेसम्म २४ घण्टाको लागि खुला गरिएको अनलाइन भोटिङ सदस्यहरुको लागि नयाँ अनुभब हो । शुरुमा केही अल्मलिए जस्तो भए ता पनि मतदान गरिसकेपछि भने राम्रै लागेको वा महशुस भएको कुरा बेसिङस्टोक निवासी आत्मराम गुरुङले खबर यूकेलाई आफ्नो अनुभब सुनाउनु भयो ।

एनआरएनए यूकेको को आगामी २१-२३ लागि अध्यक्ष र महासचिवमा तीन, तीन जनाको उम्मेदवारी परेको छ भने अन्य पदहरुमा दुई, दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष, उपाध्यक्षहरु, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक तथा सदस्य गरी सबै पदमा निर्वाचन हुँदै छ ।

निर्वाचन मंगलबार मध्यान्ह १२ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार ३१ जुलाई शनिबार नै निर्वाचन हुनुपर्ने भएपनि निर्वाचन समितिले प्राविधिक कारण जनाउँदै दुई दिन ढिलो आजलाई सारेको थियो । बेलायतमा बसोबास गर्ने नेपालीमध्ये ११ हजार ३ सय ६५ जना पन्जीकृत सदस्यता लिएका छन् र अहिले मतदानमा सहभागी छन् ।

मतदान प्रकृया-

मतदान गराउने कम्पनी च्वाइस भोटिङबाट तपाईंलाई भोटिङको लागि २ वटा एमेल पठाउछ । एउटा ईमेल राष्ट्रिय परिषद (National) को लागि अर्को इङल्याण्ड राज्य परिषदको लागि । पठाएको एमेलमा Click Here to Vote मा क्लिक गर्नुभएपछि तपाईंलाई छुट्टै विन्डोमा वा भोटिङ पेजमा लैजान्छ र आफुले इछ्याएको चाहेको उम्मेदवारलाई भोट गर्नसक्नुहुन्छ । शुरुमा Save गर्ने (भन्नाले उम्मेदवार छान्ने) दोस्रो पटक सेभ गरेपछि तपाईंलाई भोटिङको लागि कन्फर्मेसन गराउछ र दोस्रो पटकको सेभ पछी You’ve Voted भनेर आउछ ।

सबै प्रकृया (भोटिङ) सकेपछी देब्रेपट्टिको माथिलो पट्टी निलो बार 100% Complete पनि आउछ र लग आउट गर्नुपर्छ ।

स्मरण रहोस्- तपाईंलाई राष्ट्रिय परिषद र इङल्याण्ड राज्य परिषदको लागि २ वटा ईमेल आउछ । पहिलो सेभ उम्मेदवार छान्न र दोश्रो सेभ भोटिङ कन्फर्मेसनको लागि हो ।