कांग्रेसकाे क्रियाशील सदस्य छानबिन समितिमा कल्याण गुरूङको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । प्रतिवेदनमा सदस्य गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा प्रतिवेदन बुझाउन लागिएको हो ।

क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताए। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको बुझिएको छ । क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद छ । सदस्यता विवादकै कारण आजदेखि हुने भनिएको वडाका अधिवेशन स्थगित गरिएको छ। अर्को तालिका तय भएको छैन ।

यस विषयमा आजको पदाधिकारी बैठकमा छलफल हुने नेताहरुले बताएका छन्। नेता रमेश लेखकको संयोजकत्वमा गठित छानबिन समिति सात सदस्यीय छ ।

कांग्रेस क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।

जसमध्ये नयाँ ४ लाख ४३ हजार ६७८ जनाले क्रियाशील सदस्यत पाए भने पुराना ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन् । १४ औं महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले पार्टीलाई विवरण बुझाएको छ ।

१३ पृष्ठ लामो प्रतिवेदनमा विवादित जिल्लाहरुको अवस्था, त्यसलाई गरिएको समाधान, विवाद समाधान हुन नसकेको जिल्लाको समग्र अवस्थाबारे उल्लेख छ ।

नयाँँ महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न काङग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा नपुगेको भन्दै साउन १२ गतेदेखि शुरु हुन लागेको अधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गरेको थियो । बैठकले केन्द्रीय महाधिवेशनको कार्यतालिकाका बारेमा भने केही बोलेको छैन ।

शनिबारकै बैठकमा क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन साउन १२ गते अर्थात आजसम्म पार्टी सभापति देउवालाई हस्तान्तरण गर्ने जानकारी दिएको थियो । पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यता टुङ्गो नलागेकाले कांग्रेसले तल्लो तहको अधिवेशनको मिति तत्काल तोक्न सकेको छैन ।

क्रियाशील सदस्यता टुङ्गो लागेपछि महाधिवेशनको नयाँ मितिबारे पदाधिकारी बैठकमा छलफल गरेर केन्द्रीय कार्यसमितिको बैठकमा अनुमोदनका लागि पठाइनेछ ।