अपेक्षित भन्दा भब्य अनि सफल रुपमा १९औ गोरखा कप २०२१ सुसम्पन्न (फोटो फिचर)

भेटरान तर्फ ब्रिगेड ब्वायज क्लब र मेन (युथ)तर्फ यलजी लायन्स बिजयी

ईन्द्र घोथाने ।
२४ जुलाई २०२१ । ह्याम्पसायर, अल्डरसट ।

तमु धिं यूकेले हरेक बर्ष आयोजना गर्ने बेलायतबासी नेपालीहरुको सबैभन्दा ठुलो खेलकुद कार्यक्रम- १९औ गोरखा कप २०२१ अपेक्षित भन्दा भब्य रुपमा सुसम्पन्न भएको छ । गत बर्ष कोभिड-१९ को कारण स्थगित भएको गोरखा कप यस बर्ष २ महिना पछाडि सारेर आज जुलाई २४ तारिख शनिबार भब्य रुपमा सम्पन्न भएको हो ।

१९औ गोरखा कपमा भेटरान तर्फ (४० बर्ष भन्दा माथिको)को खेलमा ईलाम यफसी लाई २ – १ पराजित गरी ब्रिगेड ब्वायज क्लब बिजयी भयो भने मेन तर्फको (४० बर्ष मुनिको) खेलमा अतिरिक्त समयमा १ गोल गर्दै यलजी लायन्सले ब्रिगेड ब्वयज क्लबलाई १ – ० ले हाराउदै बिजयी भयो । सधैंको जस्तो भेटरानतर्फ १० टिमहरुले भाग लिएको थिए भने मेनतर्फ ३२ टिमहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा भेटरान तर्फको उत्कृष्ट खेलाडी मिलन चन्द्र राई भए भने मेन (युथ) तर्फको उत्कृष्ट खेलाडी सुदिप गुरुङ भए । भेटरान तर्फको सर्बोत्तम गोल किरण गुरुङले गरेका थिए भने युथ (मेन)तर्फ ओलीले सबैभन्दा धेरै गोल गरेका थिए । त्यस्तै भेटरानतर्फको उत्कृष्ट प्रशिक्षकमा ब्रिगेड ब्वायज क्लबका दीपेन्द्र गुरुङ भए भने युथ (मेन) तर्फको उत्कृष्ट प्रशिक्षक ईलाम यफसीको धन राई घोषित भएका थिए । यी सबै जानकारी साहरा यूकेको अधक्ष्य तथा गोरखा कप २०२१ को टिम दर्ता संयोजक कुमार गुरुङले खबर यूकेलाई उपलब्ध गराउनु भएको थियो ।

बिजयी खेलाडीहरुलाई पुरुस्कार प्रायोजन गर्नुहुने- रोजिना प्रधान राई (एनआरएनए यूकेको बर्तमान महिला उपाधक्ष्य तथा २१-२३ को लागि अधक्ष्यको उम्मेदवार), प्रेम गाहा मगर (एनआरएनए यूकेको बर्तमान उपाधक्ष्य तथा २१-२३ को लागि अधक्ष्यको उम्मेदवार), दीपक श्रेष्ठ (एनआरएनए यूकेको इङल्याण्ड राज्य परिषदको बर्तमान अधक्ष्य तथा २१-२३ को लागि अधक्ष्यको उम्मेदवार), तमु धिं यूकेको संस्थापक अधक्ष्य मिन प्रसाद गुरुङ, निबर्तमान अधक्ष्य नन्दजङ गुरुङ, भुपु अधक्ष्यहरु- रामचन्द्र (सुर्जे) गुरुङ र ज्ञाम गुरुङ, एनआरएनए यूकेको अधक्ष्य पुनम गुरुङ, एनआरएनए यूकेको भुपु अधक्ष्य कुल आचार्य, काउन्सिलर जिब बेलबासे, स्ठानीय रशमोर बोरोको मेयर ब्रुश थोमस लगायतले ट्रोफी, मेडल र प्रमाणपत्र हस्तन्तरण गर्नुभएको थियो ।

भेटरान तर्फको प्रथम पुरुस्कार १२०० पाउन्ड तथा दितिय पुरुस्कार ८०० पाउन्ड रहेको थियो । साथै प्रमाणपत्र र मेडल (तक्मा) पनि । त्यस्तै युथ (मेन) तर्फको प्रथम पुरुस्कार २५ सय पाउन्ड र दितिय पुरुस्कार १५ सय पाउण्ड रहेको थियो, साथमा प्रमाण पत्र र मेडल । युथ (मेन) तर्फको प्रथम पुरुस्कार २५ सय पाउन्ड एनआरएनए यूकेको बर्तमान महिला उपाधक्ष्य तथा २१-२३ को लागि अधक्ष्यको उम्मेदवार रोजिना प्रधान राईले प्रायोजन गर्नुभएको थियो । त्यस्तै भेटरान तर्फको प्रथम पुरुस्कार एनआरएनए यूकेको इङल्याण्ड राज्य परिषदको बर्तमान अधक्ष्य तथा २१-२३ को लागि अधक्ष्यको उम्मेदवार दीपक श्रेष्ठले प्रायोजन गर्नुभएको थियो । त्यस्तै एनआरएनए यूकेको बर्तमान उपाधक्ष्य तथा २१-२३ को लागि अधक्ष्यको अर्का उम्मेदवार प्रेम गाहा मगरले पनि गोरखा कप-२०२१ लाई नगद २११० पाउण्ड सहयोग गर्नुभएको थियो ।

१९औ गोरखा कपको प्रमुख अथितिहरु एनआरएनए यूकेको अधक्ष्य पुनम गुरुङ, लन्डन होन्स्लोको मेयर बिष्णु गुरुङ र बेलायतको नेपाली राजदुताबासको उप-प्रमुख रोशन खनाल हुनुन्थ्यो । सधैंको झै यसपाली पनि सयपत्री कल्चरल ग्रुपले बिभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए, यस समुहको कोरियोग्राफर कबिता घर्ती मगर गुरुङले गर्दै आइरहेको छ । त्यस्तै बेलायतको स्ठानीय चर्चित कलाकार सुमधुर स्वरको धनी सपन कुमार राईले गीत गाउनुभइ दर्शकलाई मनोरन्जन गराउनुभएको थियो । त्यस्तै नौमती पञ्चे बाजामा पनि दर्शकहरुले खुबै मनोरन्जन गरेका थिए ।

यसपालिको गोरखा कपमा सोचे भन्दा धेरै झन्डै ६ हजार मानिसहरु उपस्थित भएको अनुमान गरिएको छ, मौसमले पनि एकदमै साथ दिएको थियो । सधैं जस्तो यसपाली पनि पिपल लेटिङ तथा मर्गेज लगयात थुप्रै कम्पनीहरु, संघसंस्थाहरु र अन्य ब्यक्तीहरुको ब्यपारिक तथा प्रचारप्रसारका स्टलहरु राखेका थिए । कोभीड- १९को कारण झन्डै डेढ बर्षको बन्दाबन्दी (निषेधज्ञा) पछी आयोजित नेपालीहरुको सबैभन्दा ठुलो कार्यक्रममा उपस्ठित दर्शकहरुले (नेपालीहरुले) भरमुग्धर मनोरन्जन गरे भन्ने तमु धिं यूकेको बुझाई छ ।

कार्यक्रमलाई सफल बनाइदिनुभएकोमा तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङले सहभागी टिमहरु, खेलाडीहरु, रेफ्रीहरु, प्रशिक्षकहरु त्यस्तै अरु योगदान गर्नुहुने बर्तमान कार्यसमिती, भुपु पदाधिकारीहरु, समकक्षीहरु, सहयोगदाताहरु (प्रायोजकहरु), मिडिया एवम् सम्पूर्ण समुदायलाई (दर्शकलाई) खबर यूके मार्फत धन्यवाद दिनुभयो । १९औ गोरखा कप- २०२१ को संयोजक क्याप्टेन (रिटायर्ड) देब बहादुर घले हुनुहुन्थ्यो ।

फोटो सौजन्य- यसके गुरुङ, एभरेष्ट नेट