घर नछोड्ने, अपमान भने नसहने- नेता नेपाल

काठमाडौँ – कमीकमजोरी हटाएर शुद्धीकरण गरि पार्टीलाई नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी अहिले आफूहरुको काँधमा रहेको नेकपा एमालेका नेता माधवकुमार नेपालले बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान पुष्पलाल स्मृति पार्क चम्पादेवीमा भएको कार्यक्रममा नेता नेपालले भने, ‘नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्छ । सबै कुरोको केन्द्र बिन्दु जनता नै हुन यसमा संवेदनशील हुनुपर्छ। सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र शाहस चाहिन्छ । पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’

उनले अघि भने, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ। जनताको पार्टी बन्न सक्नुपर्छ। एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ । नेतृत्व सुध्रिने चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन। नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ। असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने।’

गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने उनले बताए । उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन। अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन। त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ । हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन । आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ । कम्युनिष्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ।’

कम्युनिष्ट पार्टीमा नेता नभई नीति प्रधान हुने उनले बताए । उनले भने, ‘अहिले जुन बाँदर जुलुस लगायतका गतिविधि भैरहेको छ, यो अराजकता प्रस्तुत भैरहेको छ। यसले राम्रो गर्दैन । हामी अझै पनि एकताबद्व एमाले चाहिँ रहेका छौँ ।’

उनले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको प्रमुख प्राथमिकता भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताए । हावादारी भन्दा अध्ययनमा आधारित विकासका काम हुनु पर्ने उनले बताएका छन् ।