एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए, बाहिरिएका सांसदहरु
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।
देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
पक्ष वा विपक्ष कतै पनि मत नदिई बहिरिएका एमाले सांसदहरु
त्यस्तै माधव नेपाल पक्षका केही सांसदहरु प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष वा विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै संसद भवनबाट बाहिरिएको थिए । नेपाल पक्षले देउवालाई मत दिने तयारी गरे पनि संसद भवनमा भएको छलफलपछि उनीहरु सामूहिक रुपमा बाहिरएका हुन् ।
बाहिरिएका एक सांसदका अनुसार उनीहरुसँग एमालेका १५ जना सांसद छन् । बाहिरिनेमा सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डेलगायत थिए ।
जसपाको ठाकुर पक्षले मत दिने भएपछि नेपाल पक्षले मत नदिए पनि देउवाको पक्षमा बहुमत पुग्ने भएको थियो । बहुमतका लागि १३६ जना सांसद चाहिथ्यो ।