नेपाललाई चीनले थप १६ लाख खोप अनुदान दिने

काठमाडौं । चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएकी हुन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै राजदूत यान्छीले प्रधानमन्त्री देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएको उल्लेख गरेको छ । चिनियाँ सहयोगका लागि प्रधानमन्त्री देउवाले राजदूत यान्छीमार्फत् चीन सरकारलाई धन्यवाद दिएका छन् । चीन सरकारले यसअघि अनुदानमार्फत १८ लाख कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइसकेका छ। सरकारले चीनसँग थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । सम्झौता अनुसार आठ लाख डोज खोप चीनबाट आइसकेको छ ।

देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्ममा सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको छ ।