भाषा सच्याए पश्चात धारा ७६ (५) अनुसार नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ साथै चार मन्त्रीलाई पनि सपथ
काठमाडौँ– राष्ट्रपति कार्यालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रको भाषा सच्याएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रको भाषामा संविधानको धारा उल्लेख नगरिएको भन्दै देउवाले सपथ लिन अस्वीकार गरेका थिए ।
पत्रको भाषामा सर्वोच्चको संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख थियो । भाषा सच्चिएसँगै नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ लिएका छन्।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूले श्री सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम साथै नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवा ज्यूलाई प्रधानमन्त्री पदमा आज मिति २०७८/३/२९ मा नियक्त गर्नुभएको छ,’ सपथग्रहणका क्रममा प्रयोग गरिएको भाषामा उल्लेख छ ।
देउवासँगै चार मन्त्रीले लिए शपथ
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् ।
नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।