आज देउवाले प्रधानमन्त्रीकाे शपथ लिने, सानाे आकारकाे मन्त्रीमण्डल बन्दै
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन् । उनले साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ । सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे थियाे। त्यसबमाेजिम राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियाे । देउवाले संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यसविरुद्ध १४६ जना सांसद सर्वोच्च अदालत पुगेका थिए। उक्त मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो । साथै सर्वोच्चले धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसला समेत सुनाएको छ ।
देउवाले आज सानाे आकारकाे मन्त्रीमण्डल पनि गठन गर्ने सम्भावना छ । साेमबार विपक्षी गठबन्धनकाे बैठकमा संयुक्त सरकार बनाउनेबारे छलफल भएकाे जसपा नेता डा. बाबुराम भट्टराईले बताएका थिए । तर देउवा सरकारमा एमालेकाे माधवकुमार नेपाल समूह भने सहभागी नहुने सम्भावना छ । सर्वाेच्चकाे फैसलालगत्तै साेमबार साँझ बसेकाे विपक्षी गठबन्धनकाे बैठकमा नेता नेपालले अब आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराएकाे नेताहरुले बताएका छन् ।
बैठकमा नेता नेपालले आफ्नाे परिस्थिति भिन्न रहेकाेले गठबन्धनमा अब नरहने बताउँदै मनपरी नगरी सबैलाई समेटेर सरकार सञ्चालन गर्न देउवालाई सुझाव दिएका थिए ।