अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, मेस्सी र नेयमार उत्कृष्ट खेलाडी

४७ औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार बिहान रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा भएको फाइनल खेलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि जितेको हो । अर्जेन्टिनालाई जित दिलाउन एन्जेल डि मारियाले निर्णायक गोल गरेका हुन् । उनले खेलको पहिलो हाफको २२ औं मिनटमा गोल गरेका थिए । रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

त्यसपछि खेलमा दुवै तर्फबाट दोहोरो गोल हुन सकेन र डि मारियाको उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । कोपा अमेरिकाको उपाधि जितेसँगै अर्जेन्टिनाको करिब तीन दशकयताको उपाधिको खडेरी पुरा भएको छ । च्याम्पियन बनेसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा अमेरिकाको उपाधि जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ ।

यस्तै अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले आफ्नो करिअरको पहिलो औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । राष्ट्रिय टोलीबाट पाँचौ फाइनल खेलेका मेस्सीले आइतबार कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् । फिफा वरीयतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि चार पटक कोपा फाइनल हारेको थियो । यता घरेलु टोली ब्राजिल भने घरेलु भुमिमा खेलको कोपा अमेरिकामा पहिलो पटक उपाधि बाट बञ्चित बनेको छ । सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो । २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

दुई वर्षअघि घरेलु मैदानमा उपाधि जितेको ब्राजिलले अहिलेसम्म ९ पटक मात्र कोपा जितेको छ र सर्वाधिक जित्नेमा तेस्रो स्थानमा छ । यस हारसँगै ब्राजिलको लगातार दोस्रो पटक उपाधि जित्ने सपना समेत असफल भएको छ ।

प्रतियोगिताभर सर्वाधिक गोलकर्ता मेसी बने भने उत्कृष्ट खेलाडी मेसी र ब्राजिलका नेयमार घोषित भए । उत्कृष्ट गोलकिपरको उपाधि अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले जिते ।